काठमाडौं । देशैभरि अहिले सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (आइतबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा हुन अनुरोध गरेको छ ।
