• ट्रेण्डिङ्ग :
चौथो अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : केन्यासँग ७ रनले नेपाल पराजित

चौथो अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : केन्यासँग ७ रनले नेपाल पराजित


  • 7.6K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    चौथो अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : केन्यासँग ७ रनले नेपाल पराजित

    काठमाडौं । चौथो अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ । नेपाल पराजित भएसँगै पाँच खेलको सिरिजमा २-२ को बराबरी भएको छ । यसअघि पहिलो र तेस्रो टी–ट्वान्टी मा नेपाल विजयी भएको थियो । केन्याले दोस्रो टी–ट्वान्टी मा जित निकालेको थियो।

    images

    घरेलु टिम केन्याले सोमबार दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन मात्र जोड्न सक्यो । नेपालका ओपनरद्वय पवन सर्राफ शून्य र अर्जुन साउद ६ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल पनि ६ रनमै आउट भए। 

    त्यसपछि दीपेन्द्रसिह ऐरी ६ रनमा आउट भए भने आरिफ शेखले २ रनभन्दा बढी जोड्न सकेनन् । सोमपाल कामी शून्यमा आउट हुँदा आदिल अन्सारीले १५ बल खेलेर ८ रन मात्र जोड्न सके । करण केसी १८औं ओभरमा तेस्रो बलमा आउट हुँदा नेपालले आठौं विकेट गुमाएको थियो। त्यतिबेला नेपाललाई १५ बलमा २६ रन चाहिएको थियो ।

    अन्तिम ओभरमा नेपाललाई १२ रन चाहिएको थियो । मैदानमा रोहित पौडेल र सन्दीप लामिछाने थिए । बलिङमा राखेप पटेल थिए । पहिलो बलमा रोहितले एक रन लिए । दोस्रो बलमा सन्दीपले पनि एक लिए । त्यसपछि दुई बलमा पनि एक एक रन भयो । पाँचौं बलमा रोहित ४७ रनमा बोल्ड भए । उनले ५५ बलमा २ चौका र २ छक्का हिर्काए ।

    केन्याका शेम एनगोचे र विराज पटेलले दुई दुई विकेट लिएका थिए । शेमले चार ओभरमा एक मेडन फ्याँक्दा ७ रन मात्र दिए । विराजले पनि चार ओभरमा १ मेडन राख्दा ७ रननै खर्चिए । त्यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा १०१ रनमा अलआउट भयो ।

    केन्याका लागि ओपनर कोलिन ओबुयाले २० रन जोडे भने लुकास ओलुओचले ३३ रनको योगदान गरे। शेम एनगोचेले १३ रन जोडे भने बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिँदा ९ रन खर्चिए।

    आदिल अन्सारीले २ विकेट लिँदा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए । ६ दिनको अन्तरमा पाँच टी–ट्वान्टी खेल्न लागेको नेपालले पाँचौं खेल भोलि (मंगलबार) खेल्नेछ । यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।