कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि बिहीबारदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदै छन् ।
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रंगशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदै छन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।
सदस्य-सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडी सहभागी भएका थिए । प्रत्येक खेलमा एउटा प्रशिक्षक र एउटा व्यवस्थापक राखिएको छ । प्रादेशिक छनोटमा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्ने भएको छ । यही भदौ ८ देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगिताका लागि खेलाडी छानिएका हुन् । प्रदेश स्तरीय प्रतियोगितका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कास्कीबाट ६७३, मुस्ताङबाट १६६, म्याग्दीबाट २८३, बागलुङबाट ३६१, पर्वतबाट २२३, स्याङ्जाबाट ३४७ र तनहुँबाट तीन सय तीन खेलाडी छनोट भएका छन् ।
यसैगरी लमजुङबाट २१३, गोरखाबाट २३०, मनाङबाट ४६ र नवलपुरबाट ३७८ खेलाडी छनोट भएका छन् । गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने भएको छ । नवौँ राष्ट्रियमा गण्डकीबाट सात सय नौ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार सय चार स्पर्धामा ४११ पुरुष र २९८ महिला सहभागी हुन लागेको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । ‘जिल्ला, प्रदेश छनोट र बन्द प्रशिक्षणसम्म कुल सात करोड ८५ लाख रुपैयाँ खर्च हुने अनुमान छ,’ उनले भने ।
राष्ट्रिय खेलकुद परिषद्ले यही भदौको २५ गतेभित्रमा सबै प्रदेशलाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नाम दर्ता गर्न समयसीमा तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
तयारीका लागि बजेट अपुग भयो : प्रदेश खेलकुदमन्त्री
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले राष्ट्रिय खेलकुदको तयारीका लागि बजेट अपुग भएको बताएका छन् । उनले संघीय सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ स्वीकृत भएको जानकारी दिए पनि हालसम्म रकम प्राप्त नभएको उल्लेख गरे ।
‘रकम अभावले खेलाडीको बन्द प्रशिक्षण सञ्चालनमा कठिनाइ हुने भएको छ,’ उनले भने । राष्ट्रिय खेलकुदका कतिपय पूर्वाधार बजेट अभावका कारण निर्माण हुन नसकेको मन्त्री गुरुङले गुनासो गरे ।
पुलिसलाई राष्ट्रिय महिला भलिबले उपाधि
यसैबीच नेपाल पुलिस क्लबको महिला टोलीले पोखरामा सञ्चालन भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा १६, लामाचौरमा सम्पन्न २४औं संस्करणको ‘लामाचौर तीज महोत्सव-२०७९ एवं लामाचौर कप राष्ट्रिय भलिबल’ प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा पुलिसले न्यु डायमन्ड एकेडेमीलाई ३-० सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधिसहित एक लाख ५० हजार १११ पुरस्कार रुपैयाँ प्राप्त गर्यो । उपविजेता न्यु डायमन्डले एक लाख १११ रुपैयाँ पुरस्कार पाएको छ । फाइनलमा पुलिसले न्यु डायमन्डलाई २५-१५, २५-१४ र २५-८ अंकले हराएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तृतीय भयो । उसले गण्डकी प्रदेशलाई २५-१७, २५-१७ र २५-१५ अंकले पराजित गर्दै ५० हजार १११ पुरस्कार रुपैयाँ हात पार्यो । प्रतियोगितामा पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र पुलिसकै रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवैजनाले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यसैगरी उत्कृष्ट सेटर न्यु डायमन्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमन्डकी सलिना बुढामगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना विष्ट र उत्कृष्ट लिब्रो डायमन्डकी सलिना श्रेष्ठ घोषित भइन् । विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी रामदत्त जोशी, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल खेल हुन बाँकी रहेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । -रासस
