काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा पर्साको भेडिरहवास्थित नेपाल राष्ट्रिय कन्या प्राविकी शिक्षिका उर्मिला देवीविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ । उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा करारमा सरकारी नियुक्ति लिएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनले भारत विहार विद्यालय परीक्षा समिति पटनाबाट जारी भएको झुट्टा विवरणको नक्कली लब्धांक पत्र तथा प्रोभिजनल प्रमाणपत्र र तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्साबाट जारी भएको भनी झुट्टा अस्थायी अध्यापन अनुमतिपत्र पेस गरेर २०६६ फागुन २ देखि २०६७ असार २५ गतेसम्म उक्त विद्यालयमा अध्यापन गराएको पुष्टि भएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्त भई भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन शिक्षिका उर्मिला देवीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजउपर सोहीबमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
