काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति एवं वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा गौतमको ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । उनको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।
पत्रकार महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघका पूर्वउपसभापति वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको उमेरमा आज बिहन ५ः३० बजे ललितपुरको ग्वार्खोस्थित बीएन्डबी अस्पतालमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । कोभिड संक्रमणबाट मुक्त भएपछि श्वासप्रश्वासमा समस्या आएर निमोनिया देखिएपछि उक्त अस्पतालको आइसियुमा उपचाररत गौतमको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखी थप उपचार भइरहेकामा उपचारकै क्रममा निधन भएको हो । गौतमले लामो समय महासंघको कार्यवाहक सभापतिको भूमिकासमेत निभाउनुभएको थियो ।’
अस्ताए पत्रकारिताका मूर्धन्य
स्वर्गीय गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिअघि नेपाल पत्रकार महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेलले उनको पार्थीव शरीरमा महासंघको झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।
सो क्रममा महासंघका पदाधिकारी तथा पत्रकारिता सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत पत्रकार एवं शुभेच्छुकहरूको उपस्थिति थियो ।
२००२ सालमा काठमाडौंमा जन्मिएका गौतम सम्पादक समाज नेपालको पूर्वअध्यक्ष थिए । पाँच दशक सक्रिय पत्रकारिताका क्रममा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनीबाट सम्पादन र प्रकाशन भएका झन्डै एकदर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।
२०४२ सालको बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण छापेको निहुँमा ६ महिना जेल जीवन बिताएका गौतमले सोही क्रममा ’अनुसन्धानभित्रको अनुसन्धान’ नामक पुस्तकसमेत लेखेका थिए ।
पछिल्लो समय नयाँ करेन्ट साप्ताहिकका सम्पादक/प्रकाशकका रूपमा कार्यरत गौतमलाई २०६९ सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो भने नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो ।
नेपाली पत्रकारिताको संस्थागत विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार गौतमको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएको छ ।
उनको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ । उनले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । दिवंगत गौतमका पत्नी र दुई छोरा छन् ।
