काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका छन् । साफको फाइनलमा सोमबार बंगलादेशसँग नेपाल ३-१ गोलले पराजित भएसँगै थापाले पदबाट राजीनामा दिएका हुन् ।
‘आजैको दिनदेखि म यो टिम छोड्छु,’ खेललगत्तै पत्रकार सम्मेलन गर्दै थापाले भने, ‘मैले जुन लक्ष्य राखेको थिएँ । त्यो पूरा गर्न सकिनँ । अहिले नै पदत्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टाँसिएर बस्न हुँदैन । म अहिलेबाटै छाड्छु ।’
उनले साफका लागि राम्रो तयारी भए पनि उपाधि जिताउन नसकेको उल्लेख गरे । उनले घरेलु फुटबलको संरचनाप्रति निराशासमेत व्यक्त गरेका छन् । यस्तै थापाले महिला फुटबल विभागीय टिमबाट नै टिकेको तीतो यथार्थसमेत बताए ।
