काठमाडौं, ३२ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले शरणार्थीका नाममा पैसा उठाइरहेको बारेमा आफूले प्रमुख दलको शीर्ष नेताहरुलाई जानकारी गराउदा समेत बेवास्ता गरिएको भन्दै इजलासको ध्यानाकर्षण गराएका छन् ।
कानून व्यवसायीहरुले बहस गरेपछि उनले उभिएर काठमाडौं जिल्ला अदालतको इजलासमा आफ्नो भनाइ राखेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई आफूले भेटेर शरणार्थीका नाममा पैसा उठाउने र ठग्ने काम भइरहेको छ है भनेर जानकारी गराएको बताए ।भेटघाटका क्रममा देउवा लगायतका केही नेताहरुले पैसा उठाएको घटनाबारे आफूलाई पनि सूचना आएको बताएको जानकारी उनले इजलासलाई गराए ।आक्रोशपूर्ण रुपमा आफ्नो भनाइ राख्दै उनले भने, ‘केही चोरहरुका कारण म फँसे ।’ उनले आफूले भुटानको प्रजातन्त्रका लागि संघर्ष गर्दा यातना पाएको र त्यसको असर अहिलेसम्म रहेको बताए । उनले बहसका क्रममा आफूलाई अभियोगमा मुछेकोमा सरकारी वकिलहरुको आलोचना गरे ।
उनले आफ्नो भनाइ लम्ब्याउन थालेपछि इजलासबाट न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भनाई टुंग्याउन ध्यानाकर्षण गराए ।
‘आफ्नो भनाइ राख्ने र बोल्ने ठाँउ इजलास बाहेक अन्य नभएको’, भन्दै उनले भने, ‘यहाँ बाहेक अन्य म कहाँ गएर बोल्नु ?’
उनले भुटानी शरणार्थी समस्या समाधान हुन नसकेको भन्दै आफू लामो समयदेखि त्यसमै पिल्सिरहेको बताए । भुटान फर्किने आफ्नो इच्छा रहेको दोहोर्याउँदै उनले नेपालमा बसेर आफूले कुनै गैरकानूनी काम नगरेको दाबी गरे ।
