काठमाडौं, २२ असार । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका फरार अर्का सञ्चालक पनि पक्राउ परेका छन् । नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर सञ्चालक रुदिलबल्लभ श्रेष्ठलाई ललितपुर प्रहरी परिसरको टोलीले शुक्रबार बिहान कुपन्डोलबाट पक्राउ गरेको हो।
ललितपुर प्रहरी परिसरले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई पनि बिहीबार अपरान्ह बालुवाटारबाट पक्राउ गरिसकेको छ। ललितपुर प्रहरी परिसरका प्रमुए एसएसपी सिद्धिविक्रिम शाहका अनुसार दुवै सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिइसकिएको छ।
पक्राउ परेका दुवैजनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइँदैछ। उनीहरुलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने छ। उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन्।
