काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् । शुक्रवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पीडित परिवारका सदस्यहरूले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफी दिन सकिने बताए । तर परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औँल्याउँदै उनले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताए ।
उनले नेपालगन्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिनु नहुने बताए । उनले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहीनता बढेर जाने बताए ।
उनले भने ‘अब हामीले कानुन बनाउँदै गर्दाखेरि सरकार कांग्रेस, एमाले, माओवादी जुनसुकै दलको जहिल्यसुकै बनोस् अबको दशकमा देशले हिँड्दै गर्दाखेरि कसैलाई माफी दिने हो भने त्यो परिवारकै सदस्यलाई बोलाएर सोधौँ । त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफी दिन रु माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिऊँ । माफी दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफी दिने कुरा गलत हुन्छ ।’
महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताए । उनले सरकारले जिम्मेवारीपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरू रोकिने बताए । उनले संसदमा हुने सांसदहरूको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताए ।
महामन्त्री शर्माले राजनीतिकर्मीहरू आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताए ।
