काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार’ रहेको बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताP।
उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे मिसन असम्भव नरहेको बताए। उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताए।
‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौँ। हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो। त्यसको आवधिक टार्गेट मिसन २०८४ हो। मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार। हामी जनताका बीचमा जानुपर्छ, सम्झाउनुपर्छ र हामीले जनताबाट मत प्राप्त गर्नुपर्छ‚ बहुमत किन आउँदैन? हरेक वडामा ५१ प्रतिशत, हरेक टोलमा हाम्रो संगठन, हरेक घरमा सदस्य, त्यो काम गर्नुपर्छ। कम्युनिष्ट पार्टीले आफू र आफूनिकट अवयवलाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्छ‚ योजनाबद्ध तरिकाले‚’ उनले भने, ‘आजको समस्या अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेका छन्। गिर्खे कुरा गरेर जनता अल्मल्याउनेहरु छन्।’
उनले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बूढो भएको बताए। उनले काँग्रेसको कुनै नीति र विधि नरहेको पनि बताए।
‘पार्टी पुरानो बूढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बूढो भएको छ। आफूलाई अध्यावधिक गर्न सकेन भने बूढो हुन्छ। हामी नेपाली काँग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बूढो हुन्छ भन्दा नेपाली काँग्रेस जसरी‚’ ओलीले भने‚ ‘नेपाली काँग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन। महाधिवेशन भनेको के हो भने मान्छे जम्मा हुने। नीति, विधिको कुरा उनीहरुले नीति विधि कहिले बनाउनु? मान्छे छान्नु मात्रै लोकतन्त्र होइन। विधिबिनाको मान्छे छनाइ के छनाइ? त्यो त कुनै कुनै नयाँ पार्टीले को को उम्मेदवार हुन्छ ल भन त भनेको जस्तो।’
अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए।
