काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन महत्वपूर्ण भुमिका हुने बताएका छन् ।
आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुङ्गोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।
उनले त्यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरणका लागि महासचिव गुटेरेसले ।खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताए ।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।
उनले भने ‘मेरो निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिवको चार दिने नेपाल भ्रमण आजदेखि औपचारिक रूपमा अगाडि बढेको छ । नेपालको शान्ति प्रक्रिया ट्रान्जिशन जस्टिज अन्तरगत जो अन्तिम चरणमा छ । त्यसलाई टुङ्गोमा पुर्याउन पनि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि हामीले गर्यौँ। र, आउने दिनमा यो भ्रमणपछि राष्ट्र सङ्घ र नेपालको बीचमा र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौँ ।’
महासचिव गुटेरेसले आफूसँग विश्व शान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा उनीहरूको योगदानको उचित सम्मान हुने विश्वास व्यक्त गरे ।
