नवलपरासी, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले अब कुनैपनि हालतमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा आज आयोजना भएको नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलामा सम्बोधन गर्दै सभापति देउवाले कोही कसैले भन्दैमा राजतन्त्र नआउने बताएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले, संविधान सभाले राजा हटाउने निर्णय गरिसकेकोले अब राजतन्त्र नफर्किने बताए । ‘अब कुनैपनि हालतमा राजतन्त्र आउनेवाला छैन, कसैले भन्दैमा राजतन्त्र आउने होइन’ सभापति देउवाले भने । ‘पूर्व राजा राजाको रुपमा फर्किने कुरा सम्भव छैन, संविधान सभाले राजा हटाउने निर्णय गरिसकेको छ । ’
कार्यक्रममा बोल्दै सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिएपनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा बोल्दै काङ्ग्रेस महामन्त्री गगन थापाले राजतन्त्रको बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताए । जिल्ला सम्मेलनमा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।
