• ट्रेण्डिङ्ग :
गोरखा स्कूलले चुम्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

गोरखा स्कूलले चुम्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि


  • 17.7K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 27.2K Views

    गोरखा स्कूलले चुम्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

    तुलसीपुर, १४ माघ । तुलसीपुर नगर अन्तरविद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले चुमेको छ । गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगितामा १८ स्वर्ण, ७ रजत र ६ कास्य पदक हात पार्दै गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो ।

    images

    आयोजक गुरुजजुर नमूना मावि रक्षाचौरले ८ स्वर्ण, ७ रजत र ७ कास्य पदकका साथ द्वितीय स्थान हासिल गरेको छ । ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरले ६ स्वर्ण, ८ रजत र ६ कास्य पदकका साथ तृतीय स्थान हासिल गरेको छ । 

    Gorkha2.jpg

    माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले ६ स्वर्ण, ७ रजत र ११ कास्य पदकका साथ चौथो स्थान हासिल गरेको छ । ग्रेट अरनिको माध्यमिक विद्यालय तुलसीपुरले ४ स्वर्ण, ५ रजत र ८ कास्य पदकका साथ पाँचौं स्थान प्राप्त गर्न सफल भएको प्रतियोगिताको सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनुभयो । 

    उत्कृष्ट खेल प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडी पनि घोषणा गरिएको थियो । एथलेटिक्स छात्रातर्फ गोरखा मावि तुलसीपुरका करुणा रिजाल, छात्रतर्फ गुरुजजुर माविका विशाल महत, त्यस्तै कबड्डीमा छात्रातर्फ गुरुजजुरकै दुर्गा नेपाली, छात्रतर्फ मावि कालाखोलाका गणेश बिक, भलिबल छात्रातर्फ ज्ञानज्योति मावि तुलसीपुरका सीता वली, छात्रतर्फ ग्रेट अरनिको माविका गणेश सुनार, तेक्वान्दो छात्रतर्फ लिटिल हेवन मावि तुलसीपुरका विकास केसी, छात्रामा ज्ञानज्योति माविका झरना वली, कराते छात्रतर्फ गोरखा माविका प्रतीक न्यौपाने र छात्रातर्फ गोरखा माविकै मनिषा खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    प्रतियोगितामा तुलसीपुर उपमहानगर क्षेत्रका संस्थागत र सामुदायिक गरी ३९ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा मार्सल आर्ट अन्तरगतका कराते, तेक्वान्दो त्यस्तै भलिबल, एथलेटिक्स र कबड्डी गरी पाँच खेलमा सहभागी विधालयका छात्रछात्राबीच कडा प्रतिस्पर्धा भएको थियो ।

    Gorkha1.jpg

    खेल सकिएपछि भएको समापन समारोहमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यता र उपमेयर स्यानी चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर टीकाराम खड्का, विशिष्ट अतिथि उपमेयर स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर भण्डारी, प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जीएम, अमर उरहरी माविका प्रधानाध्यापक पदमबहादुर वलीले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

    विजेता विद्यालय र खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नु भएको थियो । गुरुजजुर नमुना मावि व्यवस्थापन समितिका अध्यक्ष लोकमणि पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक तथा प्रतियोगिता सचिवालय संयोजक प्रमोद न्यौपाने गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # गोरखा स्कूल

  • तेस्रो आँखा