लुम्बिनी १ फागुन/कुनै पनि समयमा होस् जब चुनावको माहोल तातिन थाल्छ अनि एयरपोर्टको चर्चा चुलिन्छ ।भाषण र घोषणापत्रमा आश्वासन हुन्छन्, जहाज ल्याउँछौँ, जिल्लाबासीलाई अब काठमाडौँ जान सहज बनाउँछौँ । चुनावअघि नारा बनेर घन्किने एयरपोर्टको नाम चुनावपछि हराउँछ । त्यो एयरपोर्ट हो, २०११ सालमा निर्माण भएको दाङको टरिगाउँ एयरपोर्ट । निर्माण भएपछि विमान उडेको उक्त विमानस्थल लामोसमय गौचरण र झाडीमा परिणत बन्यो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित रहेको टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो मानिन्छ। चुनावताका दलहरुको अजेण्डा बन्ने विमानस्थल चुनाव जित्ने भर्याङको रुपमा प्रयोग हुँदै आएको छ । निर्वाचनमा नेताहरुको प्राथमिकतामा पर्ने विमानस्थल विजयी भएकाले बिर्सिन्छन् भने पराजय भएका उम्मेदवार नेताहरुले चासोसमेत नराखेको पाइएको छ । जुन चुनावी फण्डा विगतदेखि वर्तमानसम्म चल्दै आएको छ ।
सो विमानस्थलमा बेलाबेलामा जहाज आउने गरे पनि इन्धन डिपो नभएको कारण देखाउँदै लामो समय उडान नहुने र इन्धन बोकेरै जहाज उडाउँदा घाटा लाग्ने भनेर अनियमित भएको उडानलाई नियमित गर्न इन्धन डिपौ नै सञ्चालनमा ल्याउँदा पनि विमानस्थल बेकामे जस्तै बन्न पुगेको छ । उक्त विमानस्थलको स्तरोन्नति गर्नुपर्ने संघीय संसदमा दाङ क्षेत्र न ३ का संघीय सांसद दिपक गिरीले राखे पनि प्रभावकारी देखिएन । यता सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका डिल्लीबहादुर चौधरीको चुनावी नारामा नै परेको विषय ओझेलमा परेको छ ।
सांसद चौधरी हाल प्रदेशको मुख्यमन्त्री बनेका छन् । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरीले पनि टरिगाउँ विमानस्थललाई निर्वाचनमा मत बटुल्ने नारा नबनाएका भने होइनन् । यस विषयमा तुलसीपुर उपमहानगरका नगरप्रमख र उपप्रमुखले संघीय मन्त्रालयमा धाईरहेको जस्तो देखिए पनि मन्त्रालय धाउने भन्दा अरु प्रगति भएको देखिएको छैन । निर्वाचनका बेला जिल्लाको विकासका लागि जनाइएका घोषणा पत्रका बुँदाहरुलाई प्राथमिकतामा नपार्ने, जनता झुक्याउने खेलमा लाग्ने नेताहरुलाई नागरिकले खबरदारी मात्रै होइन अब कडा कदम चाल्नुपर्ने र जनताको आवश्यकताको विषयमा जहिलेसम्म जिम्मेवारी वहन गर्ने सवालमा जनप्रतिनिधिहरुले तदारुकता देखाउँदैनन् तबसम्म अब आफ्नै जनप्रतिनिधिहरुलाई बहिस्कारसम्म गर्ने आँट नागरिक समुदायले गर्नुपर्ने घोराही बनाउ अभियानका अभियन्ता सविन प्रियासनले बताए ।
जिल्लाको आवश्यकताको विषयमा रत्तिभर काम नगर्नेलाई अब नागरिक समाजका निकायहरुले आफ्नो कार्यक्रममा बोलाउने, सम्मान दिने, प्रमुख अतिथि बनाउने काम बन्द गर्नुपर्छ । ज्यू, हजुरीको संस्कृतिले पनि नेताहरुलाई बिगारेको छ । अन्यथा ठूलाठूला विमानस्थलहरु अहिले पनि बनिरहेका छन्, के कारणले टरिगाउँ विमानस्थल बनेको छैन रु यदि टरिगाउँ विमानस्थल बनाउने हो भने अब तुलसीपुरबासीहरुले पहिलो चरणमा त्यहाँका जनप्रतिनिधिहरुलाई विमानस्थल बनाउने कामको अगुवाई नगर्दासम्म बहिस्कार गर्नुको विकल्प छैन्, उनले भने । उनीहरुको निचोड छ कि इच्छा शक्ति हुने हो भने अहिले पनि उक्त विमानस्थलको स्तरबृद्धि हुन्छ । विमान चढ्न भैरहवा र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । घर नजिकैको एयरपोर्टमा जहाज आउँदैन । कस्तो दुर्भाग्य भोग्नु परेको छ दाङबासीले ।
