अञ्जना चौधरी,तुलसीपुर १३ फागुन/तुलसीपुर–६ का खेलराम बादीले आफ्ना पुर्खाहरुले गर्दै आएको मादल बनाउने काम थालेको पनि २५ वर्ष बढी भयो । उनले त्यही मादल बनाएर ८ जनाको परिवार पाल्दै आएका थिए । तर अहिले खेलराजलाई मादल बनाएर परिवार पाल्न हम्मेहम्मे परेको छ । मादल बनाएर गुजारा चलाउन धौ भएसँगै उनलाई अनेकन समस्याको सामना गर्नु परिरहेको छ । छोराछोरीलाई राम्रो शिक्षा दिउला भन्ने उनको सपना पुरा हुन सकिरहेको छैन । आार्थिक समस्या बढदै गएपछि जेठो छोरालाई रोजगारीको लागि विदेश पठाएका छन् । आफु पनि सिजनमा मात्रै मादल बनाउने र बेच्ने तथा अन्य समयमा ज्याला मजदुरी गर्दै आएका छन् ।
पहिले पहिले मादल बनाउनको लागि प्रसस्त मात्रामा काठहरु पाईन्थ्यो, पछिल्लो समय बनबाट काठ ल्याउन नपाईने भएकाले मादल बनाएर गुजारा चलाउन एकदमै समस्या भएको उनी बताउँछन् । उनका अनुसार, मादल बनाउनको लागि खमारी, उदिस, खिर्रा लगायतको काठ चाहिन्छ । वनबाट काठ ल्याउन अवैध भएपछि अहिले काठको ठेक्का पट्टा गर्ने व्यक्तिबाट काठ खरिद गर्ने गरिन्छ । एउटा मादल बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ । मादल हेरेर २५ सयदेखि १० हजारसम्म विक्रि हुने गरेको उनले बताए । पहिले कमाई राम्रो थियो, हाम्रा पुर्खाहरुले मादल बनाए वाफत बाली उठाउने गर्नुहुन्थ्यो, त्यो बेला मादल बनाएर वर्षभरी खान पुग्थ्यो तर अहिले मादल बनाएर खान जीविका चलाउन एकदमै गाह्रो छ– उनले बास्तविकता ओकले ।
आफु बच्चैदेखि पुर्खाले गर्दै आएको पेशा सिकेपनि अहिले यो पेशा गरेर जीविका चलाउन समस्या भएकाले अरु काम पनि गर्नु पर्ने वाध्यता रहेको उनको भनाई थियो । छोराहरुलाई विदेश पठाएर जेनतेन घर त बनाए तर पैसाकै अभावमा रंगरोगन गर्न सकिएको छैन । –उनले आफनो स्थितीबारे थप प्रष्टयाउन खोजे । बादी समुदायको पेशा जोगाउनको लागि बनमा कुकाठ काट्न पाउने अधिकार सरकारले दिनुपर्ने खेलराजको माग छ । मादल बनाउन चाहिने छाला कहिबाट ल्याउन समस्या छ, हामीले गर्ने व्यवसायको लागि चाहिने सामान सरकारले अवैध मानेकाले पनि हाम्रो पेशा संकटमा पर्दै गएको छ– उनले पेशा संकटको कारण पनि खोतले । बाख्राको छाला ल्याउन समस्या नभएपनि गोरुको छालाको लागि हामीलाई समस्या छ । मादलमा बज्ने ताल बाख्राको छालाबाट बन्छ भने लोती गोरुको छालाको चाहिन्छ । कहिले काही त छाला नै नपाएर काम रोकिने अवस्था पनि रहेको उनले दुखेसो पोखे ।
तुलसीपुर– ७ नयाँ बस्तीकी पबित्रा नेपाली बादीले पनि मादल बनाउन थालेको करिब १७ वर्ष भयो । बादीले मादल बेचेर जिविको पार्जन गर्न हम्मे हम्मे भएपछि केही वर्ष अघि सिकेको घर बनाउने काममै फर्किएकी छिन् । मादल बनाएर जिविका चलाउन समस्या भएपछि उनी सिजनको समयमा मादल बनाउने र अन्य समयमा घर बनाउने मिस्त्री काम गर्दै आएको बताउँछिन् । मादल भनेको समयमा बिक्रि हुँदैन, बजारको जस्तो मूल्यमा विक्रि गर्न सक्दैनौं, हामीलाई एउटा मादल बनाउन तीनचार दिन लाग्छ, त्यसैले मादल बेचेर जिविका चलाउन समस्या भएकाले बाहिरी काम गर्नु पर्ने बाध्यता र आवश्यक्ता छ– उनले पेशा परिवर्तनको कारण सुनाइन । पछिल्लो समय विभिन्न संघ संस्था सरकारी कार्यालयहरुले नाच्ने समूहहरुलाई मादल दिने चलन भएपछि खरिद बढेको र सिजनको समयमा राम्रै रहेको उनको प्रतिक्रिया थियो । मादल हेरेर ३ हजारदेखि सोहठी मादललाई १८ हजारसम्ममा विक्रि गर्ने गरिरहेको यथार्र्थता उनले बताईन् । तर मादल बनाउने काम दाङमा नपाएपछि पोखराबाट समेत मगाउनु परेको उनको भनाई छ । पहिले पसलबाट समेत काठ ल्याउन पाउँदैनथ्यौ तर अहिले काठ किन्नको लागि प्रमाण बनाए पछि केही सहज भने भएको छ । –उनले भनिन् । पछिल्लो समय जंगलबाट ल्याउन पाउने अधिकार बादी समुदायलाई दिने भनेर लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट आश्वासन पाएको समेत उनले बताईन् । स्थानीय सरकारबाट सहयोग नपाए पनि प्रदेश सरकारबाट भने मादल खोल्नको लागि मेसिन पाएको उनले बताइन् ।
पुख्र्यौली पेशा बाहेक अन्य पेशा अंगालेका बादी समुदायको अवस्था पनि दयनीय छ । तुलसीपुर–७ नयाँबस्तीकी रिना नेपाली एक महिने सुत्केरी हुन् । उनका श्रीमान रोगजारीको लागि भारत आउजाउ गरिरहन्छन । उनले पाँच जनाको परिवार जेनतेन पाल्दै आएका थिए । तर पछिल्लो समय उनी दुर्घटनामा घाइते भएपछि विहान बेलुका के खाने भन्ने चिन्ता छ । सुत्केरी नहुँदा रिना पनि अरुको घरमा लुगाहरु धुने काम गर्थिन । तर अहिले श्रीमान पनि घाइते र आफु पनि सुत्केरी भएपछि उनको परिवार छिमेकी र आफन्तको सहारामा बाचेका छन् । एक महिनाकी सुत्केरी रिनाले तातो कपडा समेत लगाउन पाएकी छैनन् । जेनतेन दुई कोठाको कच्ची घर बनाएको रिनाको घरमा तरकारी गर्नको लागि समेत जग्गा छैन् । बजार एरियामै घर भएपनि आर्थिक अवस्था कमजोर भएकाले घरमा धारा र विद्युत समेत जोड्न सकेकी छैनन् । छिमेकीको घरबाट विद्युत र पानी ल्याएर प्रयोग गर्ने रिनाको घरमा शौचालय समेत छैन् ।
आरती नेपाली बादीको परिवार पनि सोही समस्याबाट गुज्रीएको छ। पाँच जनाको परिवार चलाउन उनलाई समस्या छ । मादल बनाउने पेशा संकटमा परेपछि उनका श्रीमान पनि रोजगारीको लागि भारत गएका छन् । नेपालमा काम नपाएपछि श्रीमान भारत आउजाउ गर्ने गरेको उनले बताइन् । पाँचधुरमा दुईकोठाको सानो छाप्रो बनाएकी उनको घरमा ट्वाइलेट बनाउने समेत ठाउँ छैन् । साँझ विहानको खाना जुटाउन समेत गाह्रो छ । उनको परिवारले पनि अर्कैको घरबाट पानी ल्याएर खान्छन् ।
व्यवस्था फेरिए पनि अवस्था भने फेरिन सकेको छैन, बादी समुदायको । आफ्नै मादल बनाउने पुख्र्यौली पशा गरेर जिविका चलाउन अथवा आफ्नो जग्गामा लगाएको अन्नले दुई महिनासम्म खान पुग्ने अवस्था छैन् । घोराही १३ की रंजिता बादीले अहिले आर्थिक समस्याले गर्दा बादी समुदायको युवा युवतीहरु पनि कामको खोजीमा रहेको बताईन् । बादी समुदायभित्र पढेलेखेका व्यक्तिले पनि काम पाउन नसकिरहेको अवस्था छ । स्थानीयतहले पनि बादी समुदायका यूवायूवतीलाई प्राथमिकतामा राखेको पाइएको छैन । स्थानीय सरकारले बादीहरुलाई कार्यालय सहयोगी समेत नराखेको उनको गुनासो छ । बादी समुदायको शैक्षिक अवस्था भने सधारोन्मुख छ । बादी समुदायको मुख्य समस्या भनेको जीवीकोपार्जन कै समस्या रहेको बादी समुदायमै कार्यरत सामाजिक अगुवा निर्मला गुप्ताले बताईन् । बादी समुदायमा एक दुई जना बाहेक धेरै सँग दर्तावाला जग्गा नभएको उनले खुलास गरिन । गुप्ताका अनुसार, बादीसँग जमिन नभएपछि खेतीपाती गर्ने कुरा पनि भएन । उनीहरुसँग बैकल्पिक पेशा पनि छैन । जीवन जीउनु नै प्राथमिकतामा रहेकोले बादी समुदायका लागि जीविकाका लागि विकल्प खोजीनु पर्ने उनको सुझाव छ ।
अन्य ठाउँमा अन्य दलित समुदायलाई विभिन्न संघ संस्था सरकारले सहयोग गरिरहेको छ तर बादी समुदायलाई सहयोग नगरेको गुप्ताले दाबी गरिन । बादी समुदायको हकहितका लागि आवाज उठाउने जनप्रतिनिधि तथा अगुवा नभएकाले पनि उनीहरुको अवस्था सुध्रिन नसकेको उनको बुझाई छ । नेपालगञ्जमा बादी समुदायको आर्थिक उन्नतीको लागि उपमहानगरपालिकाले एकलाखसम्म निर ब्याजे पैसा दिएको बताउँदै गुप्ताले दाङका पालिकाहरुले पनि त्यस्ता खालका कुनै कार्यक्रम र सहयोग नगरेको गुनासो गरिन् । त्यस्तै अधिकारकर्मी निर्मल नेपालीले बादी समुदायको पुख्र्यौली मादल बनाउने, माछा मार्ने र नाचगान गर्ने पेशा शंकटमा परेकाले पनि यो समुदाय आर्थिक रुपमा सवल हुन नसकेको बताए । बादी समुदायको पेशा संरक्षण गर्न सरकारले पनि चासो नदिएको उनले गुनासो गरे । बादीको राजनीतिमा पनि सशक्त उपस्थिती देखिदैन । दाङका दश पालिकामा एक जना मात्रै बादीले आफ्नो समुदायको जनप्रतिनिधि पाएको छ । दंगीशरण गाउँपालिकाको कार्यपालिका सदस्यमा बादी समुदायबाट सितारा नेपाली बादी नेतृत्व गरिरहेकी छिन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सबै जातजाति लगायत गन्धर्व समुदायको पेशा संरक्षण गर्नको लागि वार्षिक रुपमा बजेट छुट्याउँदै आएको बताए । तर बादी समुदायले अहिलेसम्म आफ्नो पेशा संरक्षणको लागि माग गर्न पालिकाकामा नआएकाले बादी समुदायको लागि काम नभएको स्वीकारे । सहयोगका लागि बादी समुदाय स्वयं आउन पर्ने उनको सुझाव छ । दलित शसत्तिकरणका लागि एैनमा टेकेर नगर प्रमुखकै नेतृत्वमा दलित अल्पसंख्यक समुदायको उत्थानको लागि निर्मल बादीलाई सदस्य राखेर सबै जातिको भाषा, संस्कृति, पेशा संरक्षण गर्ने तयारी रहेको समेत उनले बताए । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पनि बादी समुदायको पेशा संरक्षणको लागि काम नगरेको स्वीकारे । दलित, जनजाति, पिछडा वर्गको लागि बजेट वार्षिक रुपमा छुट्याउँदै आएपनि बादी समुदायको लागि भनेर बजेट नछुट्याएको उनले बताए । २०७८ को जनगणना अनुसार नेपालमा ११ हजार ४७० अर्थात ०.०४ प्रतिशत बादी समुदाय छन् । दाङमा मात्रै करिब ४५ सय बादी समुदाय रहेको तथ्यांक छ ।
