काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्ने भएको छ ।कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरुका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण, राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता र समितिले संघीयता सबलीकरणका लागि गर्नुपर्ने थप कार्यका विषयमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
