काठमाडौँ । नेपाली कांग्रेस पार्टीको संसदीय दलको बैठक आज बस्ने भएको छ। साथै संसदीय दलको बैठकसँगै पार्टीको संसदीय कार्यसमितिको बैठक पनि बस्नेछ। संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजेदेखि र संसदीय दलको बैठक दिउँसो २ बजेपछि बस्नेछ जनाइएको छ । यी दुवै बैठकहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छन् ।
संसद्को बजेट अधिवेशनमा आगामी जेठ १ गते पेश गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध गर्ने या नगर्ने विषयमा पार्टीको धारणा बनाउनको लागि नेपाली कांग्रेस पार्टीको यी दुवै बैठकहरू बस्न लागेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते वाचन गर्ने कार्यक्रम छ । सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछाने विरुद्ध नेपाली कांग्रेसले संसद अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्री लामिछानेको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको छ।
