तुलसीपुर, १० भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित श्रीकृष्ण मन्दिरमा आज विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको ‘श्रीकृष्ण महोत्सव एवं महाआरती २०८१’ कार्यक्रमको दोस्रो दिन श्रीकृष्ण जन्माष्टमीमा साँझसम्म नै दर्शकहरुको उत्साहपूर्वक सहभागिता थियो ।
भदौ ११ गते (भोली)सम्म सञ्चालन हुने उक्त कार्यक्रममा दाङ, सल्यान, रोल्पालगायतका जिल्लाहरुबाट आएका भक्तजन, साधुसन्तुहरु एवं दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वको अवसरमा श्रीकृष्ण भगवानको पूजा–आराधना गरी श्रद्धा एवं भक्तिपूर्वक मनाउँदै आएका छन् । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भन्ने गरिन्छ ।
आज श्रीकृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, एवं भजनकीर्तन गरिन्छ । विशेष गरी महिला तथा पुरुषहरु ‘व्रत’ लिएर रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मकालागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।
त्यसैगरी कार्यक्रममा दाङका विभिन्न स्थानहरुमा लाखे नाच पनि प्रदर्शन गरिएको थियो । लाखे नेपालका नेवारी समुदायको सांस्कृतिक एवं मौलिक नाच हो । परापूर्वकालदेखि लाखे नाच नेवार समुदायले जोगाउँदै आएका छन् । श्रीकृष्ण मन्दिरमा पछिल्लो समय बिभिन्न जात जातिका मानिसहरु मिलेर लाखे नाचको मौलिक र सांस्कृति पक्षको संरक्षण तथा सम्बद्र्धनमा लागेका छन् । श्रीकृष्ण मन्दिरमा पनि नेवारी समुदायको मौलिक परम्परा बोकेको लाखे नाच प्रदर्शन गरिएको थियो ।
सोमबार श्रीकृष्ण मन्दिरमा भएको कार्यक्रममा दर्शकहरुको अत्यधिक चाप भएसँगै भीडलाई नियन्त्रण गर्न व्यवस्थापन पक्ष केही फितलो रहेको देखियो । कार्यक्रममा भिडभाड नियन्त्रणका लागि प्रहरी र स्वयमसेवक टोली खटिएको थियो । तथापी बढ्दो भिडलाई नियन्त्रण गर्न उनीहरुलाई हम्मेहम्मे परेको थियो ।
आयोजककाअनुसार भोलि ११ गते दिउँसो १ बजे रथ झुला प्रदर्शन, सन्ध्याकालिन आरती, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम र लब्धप्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
