• ट्रेण्डिङ्ग :
गुल्मीका १५ हजार नागरिकको घरमा बृहत् खानेपानी

गुल्मीका १५ हजार नागरिकको घरमा बृहत् खानेपानी


  • 4.6K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.1K Views

    गुल्मीका १५ हजार नागरिकको घरमा बृहत् खानेपानी

    गुल्मी, माघ १५ । गुल्मीको तम्घास बृहत् खानेपानी उपभोक्ता समितिले ७३२ धारा जडान गरेको छ । २०२४ सालमा तम्घास खानेपानी योजनाको नामबाट २१ धारा सञ्चालन गरी स्थापना भएको यस समितिले हालसम्म प्रत्यक्ष रुपमा ७३२ खानेपानीका धारा जडान गरेको हो ।

    images

    यस तम्घास बृहत् खानेपानी उपभोक्ता समितिको २०५६ चैत १ गते जिल्ला प्रशासन कार्यालयमा तम्घास खानेपानी योजना तत्कालीन तम्घास गाविस वडा नम्बर १(४ उपभोक्ता समितिको दर्ता गरिएको थियो । उपभोक्ता समितिले संस्था दर्तासंगै आफ्नो क्रियाकलापलाई निरन्तर अगाडि बढाएको थियो । 

    तत्कालीन समयमा तम्घासमा समेत खानेपानीको माग अत्याधिक बढ्नुका साथै उपभोक्ताहरुको पनि वृद्धि हुँदै जाँदा उपभोक्तालाई खानेपानीको आपूर्ति गर्न २०६६ असोज १९ गतेको निर्णय अनुसार क्षेत्र विस्तार गर्न समितिको विधान संशोधन गरी तम्घास बृहत् खानेपानी उपभोक्ता समिति नामाकरण गरिएको हो ।

    यस समितिले प्रत्यक्ष रुपमा ७३२ खानेपानीका धारा र अन्य उपभोक्ता समितिमार्फत् १२५ गरी कूल ८५७ धाराहरुबाट करिब १५ हजार नागरिकलाई सहज र सर्वसुलभ तरिकाले खानेपानीको आपूर्ति गरेको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो। उपभोक्ताहरु र समितिको सक्रियतामा स्थापित तम्घास बृहत् खानेपानी जिल्लामै पहिलो मिटर जडित र पम्पिङ खानेपानी भएको हुँदा धेरैलाई खानेपानीको सेवा प्रवाह गर्न सकिएको छ । 

    व्यक्तिगत तथा निजी धारा ६८७, सामुदायिक धारा चार, समितिबाट सञ्चालित चार, निजी तथा सामुदायिक विद्यालय नौ, संघसंस्था १७ र कार्यालय ११ गरी कूल ७३२ धारा समितिबाट प्रत्यक्ष रुपमा वितरण भएका छन्।

    खानेपानी उपभोक्ता समिति स्थापना देखि हालसम्म आफ्नो स्वामित्वमा रहेको रेसुङ्गा नगरपालिका-१ मा विभिन्न ४ कित्ता गरी ०-९-१-० क्षेत्रफल रहेको जग्गामा चार तलाको भवन निर्माण गरिएको उहाँले बताउनुभयो । वडा नम्बर-७ भुजेलखर्क सल्लेरीमा २ कित्तामा रहेको ४-०-०-० क्षेत्रफल जग्गामा ५५० घनमिटर र वडा नम्बर-२ धागिथुममा ०-११-१-३ क्षेत्रफल जग्गामा ३०० घनमिटर पानी अट्ने ट्याङ्की रहेको छ। 

    चारिखोला र ओख्रेनी पम्पिङ खानेपानी मुहान संरक्षणका लागि समितिले काम गरेको थियो । चारिखोला खानेपानी मुहानमा समितिका कर्मचारीबाट हप्ताको एक पटक नियमित सरसफाइ गरिन्छ। यस मुहानमा वर्षायाममा पानी पर्याप्त भएपनि हिउँदमा प्रतिसेकेन्ड २।५ लिटर रहेको छ। ओख्रेनी पम्पिङ खानेपानी मुहान समितिको प्रमुख स्रोत बनेको छ। यहाँ सुख्खा समयमा प्रतिसेकेन्ड झन्डै १५ लिटर पानी रहेको छ।

    ओख्रेनी पम्पिङ खानेपानी मुहान नजिकै अर्को मुहान रहेको छ। यस मुहानमा सुख्खा समयमा प्रतिसेकेन्ड दुई लिटर पानी रहेको हुँदा कलेक्सन च्याम्बर बनाइएको र मुहानबाट ट्याङ्कीसम्म पानी पुर्‍याउन पाइप लाइन जोड्न बाँकी रहेको उहाँले बताउनुभयो। सिस्नेहार खानेपानी मुहान टाढा र पानीको कमी हुँदा समितिले पानी ल्याउन पहल नगरेको बताइएको छ। 

    तम्घास बृहत् खानेपानीको इतिहाससंगै पहाडी जिल्लामा तत्कालीन समयमा ठूलो चुनौतीका बीच लिफ्टिङ प्रणाली मार्फत यहाँका नागरिकहरुको घरघरमा खानेपानी पुर्‍याएको निवर्तमान अध्यक्ष भुवनप्रसाद श्रेष्ठले बताउनुभयो। २३ वर्षसम्म यस संस्थाको नेतृत्व गर्नुभएका उहाँले यो खानेपानी योजना विकासको नमुना भएको भन्दै सबैभन्दा सस्तो मुल्यमा उपभोक्ताहरुले खानेपानी उपभोग गर्न पाइराख्नुभएको बताउनुभयो।


    तेस्रो आँखा