• ट्रेण्डिङ्ग :
सभामुख अर्याल र कोरियाली राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता

सभामुख अर्याल र कोरियाली राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता


  • 2.1K
    SHARES
    • जेठ ११, २०८३ सोमबार
    • ५ महिना अघि
    • 3.3K Views

    सभामुख अर्याल र कोरियाली राजदूत पार्कबिच शिष्टाचार भेटवार्ता

    काठमाडौँ,  जेठ ११ गते । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल–कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विविध विषयमा गहन छलफल भएको छ।

    images

    भेटमा नेता अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै वैदेशिक लगानी तथा विकास साझेदारीका लागि नेपालमा वातावरण थप सहज र सुरक्षित बन्दै गएको प्रस्ट पार्नुभयो।

    नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै नेता अर्यालले कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि (आईटी) तथा प्राविधिक क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो। उहाँले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका संसद् र सांसदबिच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो।

    उहाँले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवा निगमको सीधा सियोल उडानका लागि सहजीकरण गरिदिन समेत कोरियाली सरकारसँग अनुरोध गर्नुभयो। नेपाल–कोरिया सम्बन्ध केवल सरकारस्तरमा मात्र सीमित नभई जनता–जनताबिचको सम्बन्धका रूपमा विकसित भइसकेको उहाँको भनाइ थियो।

    सो अवसरमा राजदूत पार्कले नेपाललाई कोरियाले आफ्नो प्रमुख विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारीको क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाइसकेका छन् भने ५० हजार नेपाली अहिले पनि त्यहाँ कार्यरत छन्।

    नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै राजदूत पार्कले श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति कोरिया सरकार सदैव संवेदनशील रहेको बताउनुभयो। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई पुनःस्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने विभिन्न कार्यक्रम भइरहेको जानकारी समेत उहाँले दिनुभयो।

    राजदूत पार्कले कोरियाली लगानी नेपालमा क्रमशः विस्तार हुँदै गएको र विशेष गरी ऊर्जा क्षेत्रमा ठुलो लगानी भइरहेको बताउनुभयो। रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो। 

     


    तेस्रो आँखा