• ट्रेण्डिङ्ग :
शिक्षामन्त्रीसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट: शैक्षिक विकासमा जोड

शिक्षामन्त्रीसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट: शैक्षिक विकासमा जोड


  • 2.5K
    SHARES
    • जेठ ११, २०८३ सोमबार
    • ५ महिना अघि
    • 3.8K Views

    शिक्षामन्त्रीसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट: शैक्षिक विकासमा जोड

    काठमाडौँ,  जेठ ११ गते ।  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) मा आबद्ध विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार भएको उक्त संयुक्त भेटघाटमा नेपालस्थित इयू कार्यालयका उपनियोग प्रमुख थोमस मिलरका साथै लिथुआनिया, साइप्रस, चेक गणतन्त्र, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्यान्डका गैरआवासीय राजदूतको उपस्थिति रहेको थियो । भेटका अवसरमा नेपाल र युरोपेली मुलुकबिचको द्विपक्षीय सम्बन्ध तथा शिक्षा क्षेत्रको पारस्परिक सहकार्यका विविध पक्षमा विचार-विमर्श भएको थियो ।

    images

    भेटवार्तामा युरोपेली देशका प्रतिनिधिले नेपालको परिवर्तित सन्दर्भमा वर्तमान सरकारका प्राथमिकताका क्षेत्रहरूका साथै शिक्षा, विशेष गरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न गहिरो चासो व्यक्त गर्नुभएको थियो । नेपालको नयाँ सरकारको विकास प्राथमिकतामा सहयोग गर्न सिङ्गो युरोपेली सङ्घ इच्छुक रहेको उल्लेख गर्दै उहाँहरूले नेपालको शिक्षा क्षेत्रमा उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

    नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले नेपालको शैक्षिक विकासमा युरोपेली सङ्घ र आबद्ध मुलुकले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा ती देशसँगको साझेदारीलाई अझ व्यापक बनाउन मन्त्रालय तत्पर रहेको स्पष्ट पार्नुभयो । सरकारको नीति तथा प्राथमिकतामाथि प्रकाश पार्दै मन्त्री पोखरेलले शिक्षामा समावेशिता, पूर्वाधार निर्माण तथा शिक्षकहरूको पेसागत दक्षता विकासका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

    शिक्षामा प्रविधिको पहुँच विस्तार र उच्च शिक्षाको गुणात्मक विकासका लागि मित्रराष्ट्रबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले भन्नुभयो, “मन्त्रालयले शिक्षाको डिजिटल रुपान्तरण  र उच्च शिक्षामा विद्यार्थी मात्र नभई विश्वविद्यालयका प्राध्यापक तथा संकाय सदस्यको प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्न विशेष ध्यान दिएको छ ।” नेपालले उच्च शिक्षाको पुनर्संरचना गर्न लागिरहेको परिप्रेक्ष्यमा युरोपेली मुलुकको विज्ञता र नवीन अवधारणा साझा गर्न आग्रह गर्दै उहाँले खुला छलफलका माध्यमबाट सहकार्यका नयाँ क्षेत्र पहिल्याउन सकिने उल्लेख गर्नुभयो ।

    सो अवसरमा साइप्रस, रोमानिया र नेदरल्यान्डका राजदूतले नेपालको शैक्षिक क्षेत्रमा, विशेष गरी उच्च शिक्षाका क्षेत्रमा साझेदारी बढाउन आफूहरू तयार रहेको बताउनुभयो । नेपालबाट साइप्रस र रोमानियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा दुई पक्षीय सम्बन्धलाई थप जनस्तरमा विस्तार गर्दै अगाडि बढ्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको छ । 

     


    तेस्रो आँखा