• ट्रेण्डिङ्ग :
राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि अनिवार्य : परराष्ट्र सचिव राई

राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि अनिवार्य : परराष्ट्र सचिव राई


  • 560
    SHARES
    • जेठ २७, २०८३ बुधबार
    • ४ महिना अघि
    • 861 Views

    राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि अनिवार्य : परराष्ट्र सचिव राई

    काठमाडौँ, जेठ २७ । परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यावहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

    images

    सचिव राईले हालको परिस्थितिमा राष्ट्रहितका लागि काम गर्ने अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै यस कार्यमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिने क्रममा परराष्ट्रमन्त्रीको हालै सम्पन्न भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको सचिव राईले जानकारी दिनुभयो । उहाँले परराष्ट्रमन्त्रीबाट छिट्टै नै चीनको भ्रमण हुन लागेको समेत अवगत गराउनुभयो । चीनसँग नेपालको परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उहाँले नेपालको विकास प्रयासमा छिमेकी मुलुकहरूको सहयोग र सद्भाव अपरिहार्य रहने बताउनुभयो ।

    पत्रकार सम्मेलनमा सचिव राईले भन्नुभयो, “परिवर्तित विश्व परिवेशमा नेपालको भूराजनीतिक अवस्थाले हाम्रा लागि आफ्नै खालका चुनौती र अवसर सिर्जना गरेको छ । राष्ट्रहित प्रवर्द्धनका दिशामा व्यावहारिक र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नु तथा त्यसका लागि हाम्रो कूटनीतिक क्षमता थप अभिवृद्धि गर्नुको अर्को विकल्प हामीसँग छैन ।” उहाँले छिमेकी मुलुकहरूसँगको उच्चस्तरीय संवाद र भ्रमण अपरिहार्य रहेको उल्लेख गर्दै हालैको भारत भ्रमण र आगामी चीन भ्रमणले सोही लक्ष्य पछ्याएको बताउनुभयो ।

    सचिव राईले पछिल्लो समय प्रविधिको विकाससँगै कूटनीति र सूचना प्रवाहमा नयाँ चुनौती थपिएको तर्फ ध्यानाकर्षण गराउनुभयो । डिजिटल विश्व, जेनेरेटिभ एआई र सामाजिक सञ्जालका कारण सूचनाको पहुँच व्यापक भए पनि मिथ्या र भ्रामक सूचना (मिसइन्फर्मेसन र डिसइन्फर्मेसन) का कारण नागरिकलाई विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भइरहेको उहाँको भनाइ थियो । सूचनाको तीव्र प्रवाह र पहुँच बढेको वर्तमान अवस्थामा आधिकारिक र भरपर्दो जानकारी सम्प्रेषण गर्नु चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

     


    तेस्रो आँखा