चितवन, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आन्तरिक निर्वाचनलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ । केन्द्रीय समिति चयनका लागि भइरहेको निर्वाचनमा राम–लक्ष्मण इलेक्ट्रिक भोटिङ मेसिनमार्फत मतदान गरिन लागिएको हो ।
रास्वपाका प्रवक्ता मनीष झाका अनुसार निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन जडान गरिएको छ । मतदानका लागि तयारी अन्तिम अवस्थामा पुगे पनि यो समाचार तयार हुँदासम्म मतदान सुरु भएको छैन ।
“बुधबार रातिदेखि बिहीबार बिहान १० बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ,” प्रवक्ता झाले भन्नुभयो । तर प्राविधिक कारणवश निर्वाचनमा ढिलाइ भइरहेको उहाँले जनाउनुभयो । प्राविधिक समस्या समाधान भएपछि मात्र मतदान सुरु गरिने बताइएको छ । उहाँका अनुसार प्रविधिमैत्री मतदान भएकाले मतदान सुरु भएपछिको प्रक्रिया भने सहज हुने छ । इलेक्ट्रिक भोटिङसँगै विदेशमा रहेका रास्वपाका मतदाताका लागि भने अनलाइन मतदानको व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा धेरै उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले एक जना मतदातालाई मतदान गर्न करिब १५ मिनेटसम्म समय लाग्ने बताइएको छ । यसरी मतदान सकिन करिब १३ घण्टा समय लाग्ने छ । विद्युतीय भोटिङ जडान गरेको संस्था ब्यालेट सोलुसन प्रालिका प्रबन्ध निर्देशक मनिराज रेग्मीले अन्तिम नामावली प्राप्त भएको डेढदेखि दुई घण्टा आन्तरिक व्यवस्थापनमा समय लाग्ने बताउनुभयो । निर्वाचन समितिले मतदाताको अन्तिम नामावली राति अबेरसम्म पनि प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
यस निर्वाचनमा चार हजार दुई सयभन्दा बढी प्रतिनिधि मतदाता सहभागी छन् । रास्वपा नेता गणेश पराजुलीले सचिवालय बैठकले सुरुमा दुई हजार आठ सयदेखि तीन हजार प्रतिनिधि तय गर्ने निर्णय गरे पनि महाधिवेशनसम्म आइपुग्दा चार हजार दुई सयभन्दा बढी प्रतिनिधि भएपछि यसको व्यवस्थापनमा कठिनाइ भएको बताउनुभयो । “मतदान ढिलाइ हुनुमा मतदाताको अन्तिम नामावली टुङ्ग्याउन पनि प्राविधिक रूपमा समस्या भएको हो,” उहाँले भन्नुभयो ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगकी सदस्य सुमित्रा कार्कीले भने उम्मेदवारहरूको तस्बिर विद्युतीय प्रणालीमा राख्ने क्रममा समस्या देखिएपछि मतदानमा ढिलाइ भएको बताउनुभयो । “केन्द्रीय सदस्यहरूका लागि पहिलो चरणको निर्वाचन हो । मतदान सुरु भएर सम्पन्न भएपछि मतगणना सुरु गरिने छ,” उहाँले भन्नुभयो । पहिलो चरणको निर्वाचनमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्य चयन हुँदै छन् । ती ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापति पदमा रवि लामिछानेको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुने हुँदा सो पदमा मतदान हुने छैन ।
लामिछानेले सभापतिमा उम्मेदवारी दिँदा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह प्रस्तावक रहनुभएको थियो । यस्तै सभापतिको उम्मेदवार लामिछानेलाई ५१ जनाले समर्थन गरेका छन् । रास्वपाको संशोधित विधान अनुसार सभापति पदमा उम्मेदवार हुनका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था छ ।
पहिलो चरणबाट निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यमध्येबाट पार्टीका अन्य पदाधिकारी चयन गरिने छ । विधान अनुसार रास्वपामा एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, छ सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहने व्यवस्था छ ।
पहिलो चरणको मत परिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरिने निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणमा पनि पार्टीका सबै प्रतिनिधिले मतदान गर्ने छन् ।
रास्वपाले प्रयोगमा ल्याउन लागेको विद्युतीय मतदान नेपालकै प्रविधि हो । यो प्रविधिमार्फत विगतमा पनि निर्वाचन गराइँदै आएको छ । प्रबन्ध निर्देशक रेग्मीका अनुसार यो प्रविधिबाट नेपालमा यसअघि २५० वटा निर्वाचन गरिसकिएको छ । पछिल्लो पटक रास्वपाकै बागमती प्रदेश स्तरीय निर्वाचन गत महिना काठमाडौँमा यही गरिएको पनि उहाँले जनाउनुभयो ।
