काठमाडौं, १५ जेठ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २-२ को बराबरीमा रोकिएको छ ।
नेपाली टोली कुवेतमा हुने छनोट प्रतियोगिता अघि अभ्यासका लागि कतार पुगेको थियो । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा २-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै नेपाल हारको संकटबाट जोगिएको हो ।
पहिलो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल २-० ले पछि परेको थियो । ४४औं मिनेटमा अग्रता लिएको टिमोर लिस्टेले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पार्यो ।
५१ र ८४ औं मिनेटमा गोल गर्दै नेपाल खेलमा फर्किएको थियो । नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्नेछ । नेपाल कतारबाटै कुवेत प्रस्थान गर्नेछ ।
समूह ‘ए’ मा रहेको नेपालले जुन आठमा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ । प्रत्येक समूहको विजेताका साथै उपविजेता मध्येको उत्कृष्ट पाँच टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछ ।
