काठमाडौं,१६ जेठ । आइतबारदेखि बेपत्ता भएको तारा एअरको विमान दुर्घटना भएको स्थलमा नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली पुगेको छ ।
बिहान ७ बजेर ५० मिनेटमा नेपाली सेना र नेपाल प्रहरी त्यहाँ पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। ‘जहाँ विमान दुर्घटना भएको हो, त्यहाँ एउटा टोली पुगिसकेको छ। शव यत्रतत्र छरिएको छ भन्ने खबर आएको छ,’ उनले भने, ‘उद्धारका लागि थप टोली पठाउने तयारी भइरहेको छ। यद्यपि, मौसम प्रतिकूल भएकाले घटनास्थलमै हेलिकोप्टर पुगेर ल्याण्ड गर्न सक्ने अवस्था छैन।’
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पैदलमार्ग भएरै त्यहाँ सेनाका लप्टन र प्रहरीका इन्सपेक्टरसहित तीनजनाको टोली पुगिसकेको जानकारी दिए। ‘हामी विभिन्न निकायहरु त्यहाँ उद्धारका लागि प्रयासरत नै छौं । अझै पुग्ने क्रम जारी छ,’ उनले भने, ‘हेलिकोप्टर त्यहाँ पुग्न सक्ने अवस्था अझै छैन मौसमका कारणले ।’ उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार डेस्क स्थापना गरेर सबै निकाय परिचालन गरेर उद्धारको काम भइरहेको छ ।
पोखराबाट जोमसोम जाने क्रममा आइतबारदेखि बेपत्ता भएको तारा एअरको विमान सोमबार बिहान दुर्घटना भएको अवस्थामा भेटिएको हो। यार्सा टिप्न पुगेको टोलीले विमान देखेपछि फोटोसहित सुरक्षाकर्मीलाई खबर गरेका थिए। लगत्तै, नेपाल प्रहरी, सेना लगायतको टोली त्यहाँ पुगेको हो । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरी हिमशृङ्खलाको फेदमा विमान भेटिएको खबर यार्सा टिप्न जानेहरुले सुरक्षाकर्मीलाई गराएका थिए । अहिले त्यहाँ छरिएर रहेका शवहरु संकलनको काम जारी छ।
