काठमाडौं,३० जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठकको कार्यसूची रोकेर रासायनिक मलको अभावको विषयमा छलफल गर्न माग गरेको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदको कार्यसूचीमा रहेको बजेटमाथि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रोकेर सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माग गरेका हुन्। सांसदहरुले धान खेती सुरु हुने समयमा किसानहरु मलका लागि भौतारिदैँ हिँडिरहेको उल्लेख गरेका छन्। सांसदहरुले अन्य सरकारसँगको प्रत्यक्ष सहमतिमार्फत भएपनि मलको व्यवस्था गर्न माग गरेका छन्।
‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम प्रतिनिधि सभाको बैठकको कार्यक्रम स्थगन गरी रासायनिक मल झिकाई कृषकलाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्ने व्यवस्था मिलाउन यो स्थगनको सूचना दिएका छौँ’, सांसदले दिएको सूचनामा भनिएको छ। प्रतिनिधि सभामा आज कानून, युवा तथा खेलकुद, श्रम तथा रोजगार, वन तथा वातावरण, शहरी विकास, भूमी व्यवस्था, महिला तथा बालबालिका र कृषि मन्त्रीले बजेट माथि उठेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

