काठमाडौं, ३१ जेठ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
मंगलबार गरिएको बिरोध प्रदर्शनमा उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन र खाद्य पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका थिए ।
प्रदर्शनमा मजदुर संगठनका केन्द्रिय अध्यक्ष बिनोद थापाले नेपालमा बढ्दै गएको महँगीले आम नागरिकलाई घर चलाउन मुस्किल परेको भन्दै सरकारलाई तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले सरकारले सबैखाले मूल्यवृद्धि फिर्ता नलिए आफूहरूले आन्दोलनलाई थप मजबुत बनाउने बताए ।
उनीहरुले सबैखाले महँगी नियन्त्रण गर, एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । नेकपा बहुमतले तीन दिन देखी दिनहुँ मूल्यवृद्धि घटाउन माग गर्दै प्रदर्शन गरिरहेको छ ।






