काठमाडौं,२२ असार। तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् । भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ ।
तुइन के कारण चुँडियो भन्ने हालसम्म खुलिसकेको छैन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार भारी बढी भएका कारण ओभरलोड भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खोजीलाई नै प्राथमिकता दिएको प्रजिअ उपाध्यायले बताए । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको उनले जानकारी दिए । उपाध्यायले भने, ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग पनि खोजीका लागि सहकार्य गरिरहेका छौं ।’ बुढाथोकी यही वर्ष एसईई परीक्षा दिएर बसेका विद्यार्थी हुन् । यसबीच, गृहमन्त्री बालकृष्ण खाणले तुइनबाट खसेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक ९डीआईजी० मोहन आचार्यलाई टेलिफोन गरेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन निर्देशन दिएका हुन् ।
