काठमाडाैं,२४ असार । घरफिर्ती वा पुनर्बसोबासको विकल्प टुंगिएका बेला पूर्वी नेपालको झापा–मोरङमा बसेका भुटानी शरणार्थीमाझ पुनः जनगणना सुरु भएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले शिविर व्यवस्थापन समितिमार्फत गत असार १३ बाट दमकको बेलडाँगी शिविरबाट गणना थालिएको हो ।
भुटानी शरणार्थीको तेस्रो देशमा पुनर्बसोबासको कार्यक्रम स्थगित भएपछि र शिविरमै अल्झिएर बसेका ६ हजार ३ सय ६५ शरणार्थीको ‘पुनस्प्रमाणिकरण’का लागि गणना सुरु गरिएको जिल्लास्थित शरणार्थी समन्वय इकाईका एक अधिकारीले जानकारी दिएका छन् । ‘विगतमा शरणार्थी परिचयपत्र रहेका र दर्तावाल शरणार्थीको तथ्यांकलाई अद्यावधिक गर्न गणना सुरु भएको शिविर समन्वय इकाईले जनाएको छ ।
शिविरमा रहेका शरणार्थीमाझ शिविर व्यवस्थापन समितिले बाडेको निवेदन ढाँचामा विगतमा आफूले पाएको शरणार्थी परिचय पत्रको फोटोकपी, बालबालिकाका हकमा अस्पतालको कार्ड, विद्यालय सर्टिफिकेट, जन्म दर्ताको कपी वा विगतको गणना कार्डको प्रतिलिपिसहित अहिलेको गणनामा हाजिर हुन निर्देश दिइएको छ । झापा–मोरङका शिविरमा रहेकामध्ये झण्डै १ लाख १५ हजार शरणार्थी अमेरिका, बेलायत, अस्ट्रेलियासहितका युरोपेली मुलुकहरुमा पुनर्बसोबासमा गइसकेका छन् ।
