काठमाडौं । ललितपुर जिल्ला अदालतले तीनपिप्ले–बञ्चरेडाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ्ग कन्सट्रक्सनको ठेक्कालाई रद्द गरिदिएको छ ।
मंगलबार न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालासले उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग कन्सट्रक्सनसँगको ठेक्का सडक विभागले यस अघि नै रद्द गरिसकेको थियो ।
तर, सो कम्पनीले गत असार आठ गते ठेक्का रद्द गर्ने सडक विभागको निणर्यविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले सुरुमा अन्तरिम आदेश जारी गर्दै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । मंगलबार उक्त अन्तरिम आदोशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयको पक्षमा न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालासले आदेश दिएको हो ।

