• ट्रेण्डिङ्ग :
१७ वर्षीय माकको विश्व कीर्तिमान, हवाईजहाजमा एक्लै परिक्रमा गर्ने कान्छा पाइलट !

१७ वर्षीय माकको विश्व कीर्तिमान, हवाईजहाजमा एक्लै परिक्रमा गर्ने कान्छा पाइलट !


  • 5.3K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    १७ वर्षीय माकको विश्व कीर्तिमान, हवाईजहाजमा एक्लै  परिक्रमा गर्ने कान्छा पाइलट !

    लन्डन । १७ वर्षीय एक किशोर सानो हवाईजहाजमा एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बनेका छन् । पाँच महिनामा ५२ देशको यात्रा अन्त्य गर्दै माक रुथरफोर्डले बुल्गेरियाको सोफियामा अवतरण गरेका हुन् । ब्रिटिस आमाबुबाबाट जन्मेका तर बेल्जियममा हुर्केका रुथरफोर्डले यात्राको क्रममा सुडानमा बालुवाको आँधीबेहरी बेहोर्नुका साथै एक रात प्रशान्त महासागरस्थित मानवविहीन टापुमा रात बिताएका थिए ।  उनकी जेठी दिदी जारा हवाईजहाजमा विश्व परिक्रमा गर्ने सबैभन्दा कम उमेरकी महिला हुन् ।

    images

    जाराले गत ज्यानुअरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन्  । उनले भाइलाई यात्राको बाटोको बारेमा जानकारी दिएको बताइन् । रुथरफोर्डले यात्रा सुरु र अन्त्य गरेको सोफियामा उनी उपस्थित थिइन् । यसअघि सबैभन्दा कम उमेरमा हवाईजहाजमा विश्व परिक्रमा गर्ने ब्रिटिश ट्राभिस लुड्लो थिए जो गत वर्ष यात्रा पूरा गर्दा १८ वर्ष १५० दिनमा थिए । आफ्नो यात्रा पूरा गरेपछि रुथरफोर्डले अरूलाई जति उमेर भए पनि आफ्नो सपना पूरा गर्न सुझाएका छन् । 'मिहेनत गर्नुहोस् र आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढ्नुहोस्,' उनले भने।

    यात्राको क्रममा उनी युरोप, एशिया, अफ्रिका, र अमेरिका महादेश पुगे भने दुई महासागर पार गरे । उनले मार्च २३ मा यात्रा सुरु गरेका थिए ।  यात्राको क्रममा उनले दुबईको उच्च गर्मी र भारतको आकस्मिक विमानस्थल बन्दको सामना गर्नुपर्‍यो । उनले वर्षा र बादलको बीचबाट जोखिमपूर्ण लामो यात्रा गरेपछि प्रशान्त महासागरको मानवरहित टापुको रनवे छेउको छाप्रोमा रात बिताएको बताए ।

    उनले अन्तर्वार्तामा केन्याको राष्ट्रिय निकुञ्ज र न्यूयोर्कमाथि यात्रा गर्दा सुन्दर दृश्यहरू देखिएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनको सबैभन्दा लामो उडान ११ घण्टाको थियो । भविष्यको योजनाबारे सोध्दा उनले हवाई उडान जारी राख्ने बताए । उनले भने, 'अहिले त मैले विद्यालय शिक्षा पूरा गर्नु छ र यात्राको क्रमको छुटेका कुराहरू पढ्नु छ।'

    रुथरफोर्डले यात्राको क्रममा दुई विश्व कीर्तिमान तोडेका छन् । पहिलो उनले एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बनेका छन्  ।  दोस्रो हलुका विमानमा पृथ्वी घुम्ने सबैभन्दा कान्छा व्यक्ति बनेका छन् । उनले शार्क नामक अल्ट्रालाइट विमानमा यात्रा गरेका थिए जसको उच्चतम गति ३०० किलोमिटर प्रतिघण्टाको थियो । उनकी दिदी जाराले यात्राको क्रममा भाइसँग निरन्तर सम्पर्कमा रहेर उनलाई हावामा हुँदा सक्दो सहयोग गरेको बताइन् ।

    जाराले भनिन्, 'बाबुआमाले उनलाई दिनदिनै फोन गर्थे र म पनि कुराकारीमा बस्थेँ । मैले यसलाई हवाई मार्गको बारेमा, उडानको बारेमा सल्लाह दिएर उपयोगी बन्ने प्रयास गरेँ।' रुथरफोर्डले आफूले तीन वर्षको उमेरदेखि विमान चालक बन्न चाहेको बताएका थिए । उनले सन् २०२० को सेप्टेम्बरमा उनले १५ वर्षको उमेरमा विमान चालक अनुमति पत्र प्राप्त गरेका थिए ।

    उनका पिता साम व्यावसायिक पानीजहाज चालक हुन् भने आमा ब्रिटिश निजी विमानचालिका हुन् । रुथरफोर्डसँग ब्रिटेन र बेल्जियमको नागरिकता छ तर उनले धेरै समय बेल्जियममा नै बिताएका छन् । उनको वेबसाइटका अनुसार उनकी जिजुआमा उड्न सिक्ने पहिलो दक्षिण अफ्रिकी महिलामध्ये एक थिइन् । -बीबीसी


    तेस्रो आँखा