घोराही, कात्तिक २० गते । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद गर्ने भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशनअनुसार पाँच हजार क्विन्टल धान किसानसँग यो वर्ष खरिद गर्ने भएको हो । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने गरि प्रक्रिया अघि बढाउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले जानकारी दिनुभएको छ ।
निमित्त कार्यालय प्रमुख डाँगीका अनुसार धान खरिदका लागि आवश्यक तयारी भइरहेको छ । खरिद गर्ने स्थान, किसानबाट धान संकलन गर्ने प्रक्रियाका बारेमा तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार देउखुरी क्षेत्रबाट धान खरिद गर्ने गरि तयारी छ । कम्पनीले गत आर्थिक वर्षमो दाङबाट पाँच हजार क्विन्टल धान खरिद गरेको थियो ।
सरकारले किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । तर खाद्यले समयमा धान खरिद प्रक्रिया सुरु नगर्दा किसानले समस्या हुने गरेको बताउँछन् । सरकारी खरिद ढिलो हुँदा समर्थन मूल्यभन्दा कममा उत्पादन बिक्री गर्नुपर्ने बाध्यता रहेको घोराही उपमहानगरपालिका–१७ निवासी किसान दिपक घर्ती बताउनुहुन्छ ।
सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ र मध्यम धानको तीन हजार ८६० रुपियाँ निर्धारण गरेको छ । गत आर्थिक वर्षमा मोटा धानको समर्थन मूल्य तीन हजार चार सय ६३ र मध्यम धानको तीन हजार ६२८ रुपियाँ थियो ।
