काठमाडौं । लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । देशका बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा साथै प्रदेश १ र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ । आज (शनिबार) दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी का थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ । यस्तै महाशाखाले तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
