काठमाडौं । रुकुम पश्चिममा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । एक बालिका घाइते भएकी छन् । जाजरकोट भेरी नगरपालिका १ मैदे घर भएका आमा र छोरीको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
पहिरोले पुरिँदा स्थानीय ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको हो । बालमतीकी घाइते ७ वर्षीया छोरी तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार जारी छ । उनको अवस्था सन्तोषजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका १ मा रहेको माइती घरबाट रुकुम पश्चिम हुँदै घरतर्फ आउँदै थिइन् । वर्षाका कारण तीनैजना रुकुमपश्चिम आठबिसकोट नगरपालिका १४, पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए ।
दिउँसो साढे ३ बजे भवनमाथिबाट पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले एक बालिकालाई उद्धार गरे पनि दुई जनालाई भने बचाउन नसकेको जनाइएको छ ।
