• ट्रेण्डिङ्ग :
पाकिस्तानमा बाढीको वितण्डा : अल्पनीय संकट, एकतिहाइ भूभाग जलमग्न

पाकिस्तानमा बाढीको वितण्डा : अल्पनीय संकट, एकतिहाइ भूभाग जलमग्न


  • 6.2K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    पाकिस्तानमा बाढीको वितण्डा : अल्पनीय संकट, एकतिहाइ भूभाग जलमग्न

    कराँची । पाकिस्तानकी जलवायुमन्त्रीले देशको एकतिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताएकी छन् । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ। 'यो त एउटा ठूलो सागर बनेको छ। पानी निकालेर फ्याँक्ने कुनै सुक्खा जमिन बाँकी छैन,' मन्त्री शेरी रहमानले भनिन् । मन्त्री शेररहमानले देशमा अकल्पनीय संकट आइलागेको  जनाएकी छन् । 

    images

    जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको सङ्ख्या १,१३६ पुगिसकेको पाकिस्तानका अधिकारीहरूले बताएका छन् । यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ । पाकिस्तानको सरकारले जलवायु परिवर्तनलाई यसको दोष दिएको छ। 'वास्तवमै पाकिस्तानको एकतिहाइ भूभाग अहिले जलमग्न छ। विगतका सबै सीमा भंग भएको छ,' रहमानले अन्तर्राष्ट्रय समाचार माध्यमहरुले जनाएका छन् । आफूहरुले यस्तो बाढी कहिल्यै नदेखेको स्थानीयबासीले जनाएका छन् । 

    बितेको २४ घण्टामा मात्रै ७५ जनाको मृत्यु भएको  अधिकारीहरूले बताएका छन्। उक्त सङ्ख्या बढ्ने ठानिएको छ।  विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ज्यान गुमाउनेमध्ये एकतिहाइ बालबालिका भएको आकलन गरिएको बताए । आफूहरु अझै क्षतिको स्तर जान्ने क्रममा नै उनले जनाएका छन् ।

     करिब तीन करोड ३० लाख पाकिस्तानीहरू उक्त बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन्। यसको अर्थ प्रत्येक सात जनामध्ये एक पाकिस्तानी नागरिक बाढीले प्रभावित छन् ।  उत्तरी स्वाट उपत्यकामा पुल तथा सडकहरू बगेपछि गाउँहरू सम्पर्कविच्छेदको अवस्थामा छन्। 

    पर्वतीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई सुरक्षित स्थलतर्फ जान भनिएको छ। हेलिकप्टरको मद्दतले समेत सबैलाई उद्धार गर्न सकिएको छैन। 'गाउँका गाउँ सखाप भएका छन्। दशौँ लाख घर ध्वस्त भएका छन्,"'हेलिकप्टरबाट निरीक्षण गरेपछि प्रधानमन्त्री शहबाज शरीफले भने। सिन्ध तथा बलोचिस्तान सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् भने खाइबर पख्तुन्ख्वाको पर्वतीय क्षेत्र पनि निकै प्रभावित भएको छ।

    यो वर्षको मनसुनी वर्षा सन् २०१० को विनाशकारी बाढीसँग तुलना गर्न सकिन्छ। पाकिस्तानको इतिहासमा सबैभन्दा घातक ठानिएको उक्त बाढीमा २,००० मानिसको ज्यान गएको थियो। यसबीच अब पुनर्निर्माणका निम्ति आवश्यक पर्ने लगानीलाई लिएर चिन्ता बढेका छन् । पाकिस्तान सरकारले सहायता निकाय, मित्र देशहरू तथा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोगको मागेको छ।

    बाढीबाट विस्थापितहरूलाई अस्थायी आवासमा राखिएको छ । प्रारम्भिक अनुमानमा (पुनर्निर्माण)का लागि १० अर्ब डलरभन्दा धेरै लाग्ने देखिएको योजनामन्त्री अहसान इकबालले जनाएका छन् । आधाभन्दा धेरै कपास बाली नष्ट भएको छ भने तरकारी र फलफूल अनि धानबालीमा उल्लेखनीय क्षति पुगेका छन्। प्रधानमन्त्री शरीफका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई उपलब्ध गराउन लागेको १.२ अर्ब डलर बराबरको कर्जाले अर्थतन्त्रलाई उकास्न धेरै सहयोग पुग्नेछ।