काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिबन्ध लगाएको गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा एलसी (प्रतितपत्र) नखोल्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रादेशिक कार्यालय, विदेशी विनिमय कारोबार गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरू र राष्ट्रियस्तरका विकास बैंकका नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकको यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशनअनुसार गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयातमा बैंकहरूले तत्काल प्रतितपत्र खोल्न पाउने छैनन् । सरकारले गत सोमबार राजपत्रमा सूचना जारी गर्दै गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयातमा २०७९ वैशाख १३ बाट लगाएको प्रतिबन्ध २०७९ असोज २८ गतेसम्मका लागि निरन्तता दिने जनाएको थियो ।
राष्ट्र बैंकले सोहीअनुसार बिहीबार परिपत्र जारी गर्दै एलसी नखोल्न बैंकहरूलाई निर्देशन दिएको हो ।
गत वैशाख १३ गतेबाट सरकारले गाडी, मोटरसाइकल, मोबाइल, मदिरा, कुरकुरे, लेज, चुरोट, टीभी, हीरा, तासलगायत वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । अहिले भने कुरकुरे, लेज, चुरोट, टीभी, हीरा, तास आयात खुला गरिए पनि गाडी, मोटरसाइकल, मोबाइल, मदिरासहितका चार वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई भने २०७९ असोज २८ गतेसम्म निरन्तरता दिइएको छ ।

