• ट्रेण्डिङ्ग :
संरक्षणको पर्खाइमा टेम्केसिद्ध मन्दिर

संरक्षणको पर्खाइमा टेम्केसिद्ध मन्दिर


  • 11.2K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    संरक्षणको पर्खाइमा टेम्केसिद्ध मन्दिर

    भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।

    images

    धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईवस्तु मन्दिरभित्र पस्ने गरेको स्थानीय बताउँछन् । ऐतिहासिक मन्दिर रहेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय नूरी शेर्पाको भनाइ छ । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनी बताउँछन् । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ ।

    ‘यो एउटा पवित्र धार्मिक तथा पर्यटकीयस्थल हो,’ शेर्पाले भने, ‘तर यहाँ बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । संरक्षणमा दिन ध्यान आवश्यक छ । यहाँको महत्त्वलाई सबै माझ बुझाउन सके धेरै पर्यटकलाई भित्र्याउन सकिन्छ ।’

    मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ छ । केही समयसम्म यहाँ जोगी बस्ने गरेका थिए । भाकल पूरा गर्न यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यस क्षेत्रको दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्छ । मानिस यहाँ सदविज छर्न पुग्छन् ।

    यहाँ लाग्ने मेलामा भोजपुर, खोटाङ, धनकुटा, संखुवासभाबाट भक्तजन आउँछन् । यहाँको मन्दिरमा सल्लाको काठ फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिँने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई तारको घेराबारा गर्नुपर्ने स्थानीयको माग छ ।

    मन्दिरको संरक्षणका लागि काम गर्ने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको एउटा महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको विकासमा ध्यान दिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । केही दूरीमै खोटाङको सीमा रहेकाले त्यहाँका स्थानीय तहसँग छलफल गरेर योजनाबद्धरुपमा काम गर्ने उनको भनाइ छ । ‘मन्दिरको संरक्षणका लागि काम गर्छौं,’ अध्यक्ष बस्नेतले भने, ‘यो ठाउँ स्थानीयको धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय क्षेत्र पनि हो । यसको बृहत्तर विकास गर्न सिमाना जोडिएका खोटाङका स्थानीय तहसँग पनि समन्वय गर्ने सोच छ ।’

    मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजंघा, ल्होत्सेलगायत आठ हजार मिटर अग्ला ६ वटा र अन्य ३३ हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यो क्षेत्र भएर नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग विस्तार भएको छ । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ । 

    प्राकृतिक सौन्दर्य नियाल्नुका साथै धार्मिक दर्शनका लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडाका गणेश विष्टले बताए । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकाले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । ‘मन्दिर संरक्षण हुन सकेको छैन,’ विष्टले भने, ‘खासमा मन्दिरको महत्त्वलाई मानिसले बुझ्न नसकेको जस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिरको संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।’

  • सम्बन्धित विषय:

  • # संरक्षणको पर्खाइमा टेम्केसिद्ध मन्दिर

  • तेस्रो आँखा