काठमाडौँ। हाल देशभरि मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकि प्रदेशहरुमा आँशिक बदली भएको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।
आज (सोमवार) दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती प्रदेश नं १,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।
आगामी चौबीस घण्टामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै वर्षा भएका पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले सचेत गराएको छ ।
