काठमाडौँ। हाल देशभरि मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तर र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहेको छ।अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।
देशभरि आज मंगलबार दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रहने छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १ र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।
आगामी चौबीस घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वर्षा हुने पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु आग्रह गरिएको विभागको बुलेटिनमा उल्लेख छ ।
