काठमाडौं । नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत चिकित्सक डा. करण शाहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरी सख्त घाइते बनाएको र सो सम्बन्धमा दोषीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाउँदा उल्टै प्रतिशोध साँधेर चिकित्सलाई बाल हिंसाविरुद्धको झुटो मुद्दा लगाइएको भन्दै उक्त मुद्दा फिर्ता लिन चेतावनी दिएको छ ।
संघले चिकित्सकमाथि भएको अन्यायलाई ७२ घण्टाभित्र सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर संघले यस्तो चेतावनी दिएको हो । संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि चिकित्सकमाथि भएको अन्यायलाई ७२ घण्टाभित्र सम्बोधन नभएमा नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुनेछ । साथै, यसै विज्ञप्तीमार्फत सम्पूर्ण चिकित्सक संघका शाखा कार्यालयहरू, देशभर रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरू, संघसँग आबद्ध भएका विभिन्न विशेषज्ञ समाजहरूलाई तयारी अवस्थामा रहनसमेत जानकारी गराइन्छ ।’
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले घट्नाको पृष्ठभूमि सुनाएका थिए । उनले भने, ‘यो घटना भदौ २ गते बिहान ९ बजेको हो । जुम्लामा जुन कर्णाली प्रतिष्ठान छ, कार्यस्थलमा डाक्टर र नर्सहरूले काम गरिरहेको अवस्थामा, त्यही प्रतिष्ठानकै एक कर्मचारीले आफ्नो बच्चाको टाँका खोल्न लिएर आउनुहुन्छ । अनि त्यहाँ कार्यरत चिकित्सकले टाँका खोल्ने कामचाहिँ इमर्जेन्सीमा गरिँदैन । यो ओपीडीमा गरिन्छ भनेर भन्नुहुन्छ । टाँका खोल्ने सामग्री यहाँ हुँदैन । १० बजे ओपीडी खुल्छ । अनि गर्नुहोला भनेर भन्दा, ती व्यक्तिले अहिले नै टाँका खोल्नुपर्छ भनेर अपशब्द प्रयोग गर्नुहुन्छ । त्यहाँ सवालजवाफ भयो । अनि ती व्यक्तिले चिकित्सकलाई दुर्व्यवहार गर्नुभयो । फेरि एकछिन बाहिर गएर आउनुहुन्छ, अनि खोल भनेर हातपात गरेको छ । भिडिओ पनि छ । लात हान्ने, मुक्का हानेर लडाउने काम गर्नुभयो । पछि ती डाक्टरलाई भर्ना नै गरिन्छ । घट्ना घटेकै दिन चिकित्सक डीएसपी कार्यालय जाहेरी दिन जानुभयो, तर जाँदा पनि जाहेरी लिएन । गृह मन्त्रालयमा हामीले कुरा गरेपछि, किटानी जाहेरी लिइन्छ । अहिले ती व्यक्तिलाई थुनामा राखिएको छ ।’
अहिले ती चिकित्सकलाई उक्त मुद्दा फिर्ता लिन दबाब दिइएको उनको भनाइ छ । उनले भने, ‘बीचमा घट्ना फिर्ता लिनका लागि दबाब आएको छ । हामी सम्झौता गर्दैनौं । दोषीमाथि कारबाही गर्नुपर्छ भनेका छौं ।’
उनले थुनामा रहेका आरोपीका श्रीमतीले चिकित्समाथि बाल हिंसा गरेको भनेर मुद्दा दायर गरेको पनि सुनाए । उनले भने, ‘उहाँले डीएसपी कार्यालयमा मुद्दा दायर गर्नुभएको छ, सरकारी वकिलले दबाब दिएर मुद्दा दर्ता भएको छ । अदालतबाट अहिले चिकित्सकलाई नै थुना पुर्जी बाहिर आयो भने भनेर समाचार आएको छ । मधेसका डाक्टर पहाडमा गएर सेवा दिनुभएको छ, तर उहाँमाथि निर्मम तवरले कुटपिट भएको थियो । यसरी कानुनी उपचार खोज्दा उल्टै प्रतिशोधका रूपमा, मुद्दा फिर्ता लिओस् भनेर बार्गेनिङका लागि उल्टै चिकित्सकमाथि झुटो मुद्दा दायर भएको छ । यसले सम्पूर्ण चिकित्सक र स्वासथ्यकर्मी स्तब्ध भएका छौं ।’
उनले यो देश कानुन र विधिले चलेको सुनाउँदै कसैलाई पनि कानुन हातमा लिने अधिकार नभएको बताए । उनले भने, ‘नभएको घट्ना बनाएर थुना पुर्जी जारी गरिएको छ, यो फिर्ता लिनुपर्छ । हामी सेतो कोट लगाउनेले अहिले कालो कोटको झैं मुलुकी ऐन पढ्नुपर्ने अवस्था आएको छ ।’ उनले चिकित्सकमाथि लगाइएको झुटा मुद्दा फिर्ता लिन चेतावनी दिएका छन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले यो घट्नाले चिकित्सकको सुरक्षामाथि प्रश्न उठेको सुनाए । उनले चिकित्सकमाथि कुटपिट गर्नेमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।
उनले चिकित्सकमाथि कपोकल्पित रूपमा उल्टै मुद्दा लगाउनु र पक्राउ पुर्जी जारी गरिनु न्यायसंगत नभएको टिप्पणी गरे । उनले चिकित्सकले ती बालकलाई कहीँ कतै हिंसा गरेको नदेखिएको सुनाए । चिकित्सकलाई अन्य व्यक्तिसरह मुद्दा चलाउन खोज्नु हतोत्साही गर्न खोजिएको उनको आरोप छ । उनले चिकित्सकमाथि लगाइएको झुटा मुद्दा फिर्ता गर्नुपर्ने माग गरे । कार्यक्रममा महासचिव डा. बद्री रिजालले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।
