• ट्रेण्डिङ्ग :
सन्दीपविरुद्धको मुद्दा : अभिनेता पल शाहको बाटोमा जाला कि फरक ?

सन्दीपविरुद्धको मुद्दा : अभिनेता पल शाहको बाटोमा जाला कि फरक ?


  • 9.4K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    सन्दीपविरुद्धको मुद्दा : अभिनेता पल शाहको बाटोमा जाला कि फरक ?

    काठमाडौं । अभिनेता पल शाहमाथि लागेको करणीको मुद्दा सेलाउन नपाउँदै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका करणीको आरोप लागेको छ । एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबरजस्ती करणी गरेको आरोपसहित सन्दीप लामिछानेमाथि मंगलबार प्रहरीमा जाहेरी दिएका छन् । मंगलबार लामिछानेमाथिको मुद्दा सार्वजनिक हुनुभन्दा केही समयअगाडि मात्र अभिनेता शाहलाई नवलपुर जिल्ला अदालतले साढे दुई वर्ष थुनामा राख्न आदेश दिएको सार्वजनिक भएको थियो । 

    images

    पल शाहले बलात्कार मुद्दामा सफाइ पाएको भए पनि जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । साथै अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

    मंगलबार फैसला भएको शाहको मुद्दाको फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ । यस्तै तनहुँ जिल्ला अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेसी भने आगामी असोज २ गतेलाई तोकिएको छ ।

    सन्दीप लामिछानेविरुद्ध पनि करणी गरेको आरोप

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि पनि यौन दुरुपयोगको नभएर जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेको छ । जबरजस्ती करणी गरेको आरोपसहित लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परिसकेको छ । महानगरीय प्रहरी वृत्त गौशालामा परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटेलमा ल्याएर करणी गरेको आरोप लगाइएको छ । 

    जाहेरीसँगै प्रहरीले अनुसन्धान सुरु गरेको बताइसकेको छ । बालिकाको विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । हाल लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा विदेशमा छन् । यदि अनुसन्धानका क्रममा उनले सो कार्य गरेको पुष्टि हुने केही आधारहरु देखिएमा उनलाई नेपाल झिकाएर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ । 

    अनुसन्धानको क्रममा काठमाडौं ९, सिनामंगलस्थित एक होटेलमा सन्दीप र ती किशोरी करिब सात घण्टा बसेको खुलेको प्रहरीले बताएको छ । सीसीटीभी फुटेज हेर्दा ५ गते राति ११ः५५ मा पसेर ६ गते बिहान ६ः४६ मा उनीहरु दुवैजना होटेलबाट फर्किएको फुटेजमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ । 

    लामिछानेको मुद्दा पनि पल शाहको जसरी नै अघि बढ्ला ?

    अभिनेता पल शाहले सुटिङका क्रममा तनहुँ र नवलपुरमा आफ्नो छोरीलाई बलात्कार गरेको भन्दै गायिकाका बाबुले तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उजुरी दिएका थिए । प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशविरूद्ध पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए । उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो । 

    तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए । बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् भने उनका बुबाले पनि छोरीले दिएकै बयान ठीक भएको बताएका थिए । क्रिकेटर लामिछानेको मुद्दामा पनि यहि प्रकृति देखिन्छ वा फरक देखिन्छ य भन्ने विषयले पनि हाल चर्चा पाउन थालिसकेको छ । 

    नायक पल शाहविरुद्धमा मुद्दा पर्दा महिलाअधिकारकर्मीले गायिकाको पक्षमा आवाज उठाएका थिएनन् । बरु पल शाहको रिहाको माग गर्दै तनहुँमा तथा काठमाडौंको माइतीघर मण्डलमा धेरैपटक धर्ना दिने काम भएको थियो । तर सन्दीप लामिछानेको मुद्दामा भने महिला अधिकारकर्मीहरु बालिकाको पक्षमा उभिएका छन् । यस विषयले पनि लामिछानेको मुद्दा शाहको भन्दा फरक ढंगबाट अगाडि बढ्छ वा के हुन्छ भन्ने विषयले प्रश्न खडा गरेको छ । यदि महिलाअधिकारकर्मीहरु र नागरिकहरु बालिकाको पक्षमा उभिए सन्दीप लामिछानेलाई पल शाहको भन्दा फरक ढंगबाट अनुसन्धान हुने चर्चा हुन थालेको छ ।

    पल शाहको मुद्दामा गायिका र उनका बाबुले बयान फेरेको जस्तैगरी बालिका र उनको पक्षले बयान फेर्छन् या फेर्दैनन् यो विषयले पनि अनुसन्धानको बाटो तय गर्ने देखिन्छ । यदि लामिछानेको मुद्दामा पलको जस्तै करणीको आरोपलाई फिर्ता लिइएको खण्डमा मुद्दा पल शाहको जस्तै गरी अगाडि बढ्ने देखिन्छ । यदि लामिछानेले बालिकासँग यौनसम्पर्क रोखेको पुष्टि भए पनि उनीविरुद्ध पलको जस्तै यौन दुरुपयोगको मुद्दा लाग्छ । लामिछानेविरुद्धको मुद्दा कसरी अगाडि बढ्छ ? अभिनेता शाहको भन्दा फरक वा एउटै बाटोमा जान्छ भन्ने विषयको टुंगो भने अनुसन्धानले बताउँदै जाने छ । 

    सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने क्यानको निर्णय

    लामिछानेमाथि लागेको नाबालिका करणी आरोपको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले तत्काल केही छानबिन नगर्ने निर्णय गरेको छ । लामिछानेमाथि प्रश्न उठेपछि बुधबार क्यानको बैठक बसेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ,’ क्यान अध्यक्ष चन्दले भने । 

    उनले कानुनीरुपमा पुष्टि नभइन्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइन्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए । उनीमाथि एकाएक रुपमा लागेको यो आरोपले उनको क्रिकेट भविष्यमाथि नै प्रश्न उठेको छ । 

    उनीमाथि लागेको यो आरोपलाई लिएर लामिछाने तथा  बालिका र कानुनको विषयमा समेत पक्ष-विपक्षीमा बहस भइरहेको छ । १८ वर्ष पूरा नभएको व्यक्तिसँग सहमतिमै सम्बन्ध राखेमा पनि कानुनले त्यसलाई यौन दुरुपयोगको मुद्दा मानेको छ । जुन कानुनी व्यवस्थाको पक्ष/विपक्षमा पनि हाल सामाजिक सन्जालमा निकै बहस भइरहेको छ ।