काठमाडौं । यूएई सरकारले वैदेशिक रोजगारी चाहनेलाई छुट्टै भिसा दिने भएको छ । जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक नपर्ने सरकारको घोषणामा उल्लेख छ । दुई महिना अवधिको हुने भिसाले मल्टिपल इन्ट्रीको विकल्प दिने छ ।
दुई महिनाको अवधिमा यूएईमा रहेर आफूले चाहेअनुसारको काम खोज्न सकिने भएको छ । भिसाका लागि आवेदन कसरी दिने र के कस्ता कागजात चाहिने लगायतका विवरण भने सार्वजनिक गरिएको छैन । तर यूएई सरकारले यस भिसामार्फत दक्ष र व्यवसायिक युवाहरूलाई लक्षित गरेको जनाइएको छ । यही सालको आगामी अक्टोबर ३ तारिखदेखि यो भिसा कार्यान्वयनमा आउने युएई सरकारले जनाएको छ ।
सरकारले बनाएको नियमानुसार भिसाको समयावधि सकिएमा वा रद्द गरिएमा युएई छोड्न ६ महिनाको समयावधि दिइने भएको छ । यसअघि सामान्यतया भिसा रद्द भएको वा भिसाको म्याद गुज्रिएको एक महिनाभित्रमा युएई छोड्नुपर्ने नियम रहेको थियो । यूएईले अक्टोबर ३ देखि नै आप्रवासीहरूलाई गोल्डेन भिसा पनि दिने तयारी गरेको छ ।
