काठमाडौं । यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ । श्रीलंकामा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलकाे सुरुमा भारतले नेपालविरुद्ध अग्रता लिएको थियो । खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ४५ औँ मिनेटमा नेपालका सरोज दर्लामीले गोल गर्दै खेललाई बराबरीमा पुराए । खेलको ४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यसपछि नेपालका लागि खेलको ६८ औँ मिनेटमा सुवास बमले तेस्राे गोल गर्दै खेललाई ३-१ को अवस्थामा पुराए । अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। जित हात पारे नेपालले बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
यता समूहमा उपविजेता बनेको भारतले भने सेमिफाइनलमा सोमबार नै समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ। जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए ।
नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराउँदा भारतले ३-० गोलको जित निकालेको थियो। नेपालसँग पराजित भएको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
