काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा आज (शनिबार) दुईवटा खेल हुँदै छन् । पहिलो खेल दिउँसो १ बजे पाकिस्तान र बंगलादेशबीच हुनेछ । बेलुका साढे ५ बजे दोस्रो खेलमा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
आयोजक नेपालले आगामी सोमबार हुने खेलमा श्रीलंकालाई पराजित गरे नेपाल समूह विजेताको रूपमा अन्तिम चारमा पुग्नेछ । श्रीलंकाले नेपालसँग बराबरी खेल्दा पनि उसको यात्रा समूह चरणमा समाप्त हुनेछ । श्रीलंकालाई अघिल्लो चरण पुग्न नेपालसँगको खेलमा कम्तीमा पनि चार गोलको अन्तरको आवश्यक छ ।
समूह 'बी' मा रहेको भुटानले दुई खेलबाट अंक तालिकामा तीन अंक जोडेको छ । नेपाल समान तीन अंकका साथ दोस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेको श्रीलंका भने तालिकामा अंकविहीन छ । यसअघि शुक्रबार श्रीलंकामाथि पाँच-शून्यको सहज जित निकालेको भुटानले पहिलोपटक प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
