कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका ७ की १८ वर्षीय मीना जोशीका परिवारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको १० लाखको चेक मृतकका बुबा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले शुक्रबार हस्तान्तरण गरेका हुन् ।
गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापतको रकम उपलब्ध गराउने प्रावधान छ । -रासस
