काठमाडौं । दार्चुलामा बाढी र पहिरोले धनजनको क्षति हुने क्रम बढेको छ । बाढी-पहिरोमा परेर पछिल्लो समय ११ जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बाढी-पहिरोमा परेर नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर एककी मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । नन्दरामको बाढीमा परि मृत्यु भएको हो भने बाँकी चार जनाको पहिरोका कारण मृत्यु भएको छ। बाढीमा परि बेपत्ता ११ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । १० जना गम्भीर घाइते भएका छन् ।
बाढी/पहिरोका कारण महाकाली नगरपालिका, दुहु गाउँपालिका र नौगाड गाउँपालिकामा २० वटा घरमा क्षति पुगेको छ । दार्चुला-तिंकर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको जनाइएको छ । सो आसपासका विद्यालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
