काठमाडौं । नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु भेटवार्तामा व्यस्त छन् । उनले आज (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता भएको छ। भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उनीहरुबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् ।
यस्तै सभामुख सापकोटा र अध्यक्ष लीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले मगलबारै भेट गरेका छन् ।
चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छन् । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।
