• ट्रेण्डिङ्ग :
चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु

चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु


  • 6.7K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु

    भरतपुर । चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका १, चैनपुरकी ६० वर्षीया वृद्धा छिन् ।

    images

    उपचार गरेर घर फर्किएपछि उनको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौमध्ये एकजनाको मृत्यु भएको छ । मृतक भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएकी थिइन् । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको र २२ जना शंकास्पदको नमुना परीक्षणका क्रममा नौजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

    कार्यालय प्रमुख चापागाईंका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआएकाले उनको खोजी भइरहेको छ । राप्तीका ३५ वर्षीया महिला उपचारपछि घर फर्किएकी छैनन् । उनको स्मरण शक्ति कमजोर देखिएको छ । कालिका नगरपालिकाका एकजना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किएको र उनको अवस्था सामान्य रहेको प्रमुख चापागाईंले जानकारी दिए । रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगरभित्रका चार जनामध्ये वडा नम्बर २२ का ५२ वर्षीय पुरुषमा अस्वाभाविक गतिविधि र बिर्सने समस्या छ ।

    सोही वडाका ५२ वर्षीया एक महिला, वडा १९ का ७० वर्षका पुरुष र वडा २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाइटिसको पुष्टि भए पनि ती बिरामीलाई सम्पर्कमा ल्याउन नसकिएकाले उनीहरुको खोजी भइरहेको छ । रगतका नमुना संकलन गर्दा ठेगाना प्रस्ट नलेखिएकाले बिरामीको खोजीमा कठिनाइ भएको हो । उक्त कार्यालयका अनुसार परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १२ मध्ये चार, माडीमा पाँचमध्ये दुई, राप्तीमा दुईमध्ये एक, कालिका नगरपालिकामा एक रत्ननगरमा दुईमध्ये एकजनामा सङ्क्रमण देखिएको हो ।

    साउन १५ गतेदेखि यस्ता बिरामी देखिन थालेकामा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको थियो । यहाँ परीक्षण गर्दा नमूनामा शंका लागेकाले काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिन्छ । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको कार्यालय प्रमुख चापागाईंले बताए । हाल यो रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् ।

    सन् २०२१ र २०२० मा एक-एकजनामा यो रोग देखिएकामा सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । उनले भने, ‘सम्भवतः जिल्लामा यसरी महामारीको रूपमा बढेको पहिलो हो ।’ सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य संगठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा दुई हजार सात सयजनामा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको कार्यालय प्रमुख चापागाईंको भनाइ थियो ।

    यो रोग अप्रिल/मेदेखि सेप्टेम्बर/अक्टुबरसम्म देखिने गर्दछ । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा. गोविन्द कँडेलले सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताए । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए । -रासस