काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २०औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
औषधि लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिँदै गएको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए । अवस्था जटिल हुँदै गएपछि अस्पतालले पनि सर्वसाधारणलाई भेटघाटमा रोक लगाएको छ ।
डा. केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २०औँ पटक धनगढीमा आमरण अनशन बसेका छन् । धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा पनि सरकारी पक्षबाट डा. केसीको मागप्रति कुनै सुनवाइ भएको छैन ।
