काठमाडौं । दसैँको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आजबाट नयाँ बसपार्कसहित अरु ठाउँमा रहेका आधिकारिक काउन्टरमा गएर टिकट बुकिङ गर्न सकिने छ ।
दसैँमा काठमाडौंबाट घर फर्किने यात्रुलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्क, गौशाला, चावहिल, कोटेश्वर, सुन्धारा र कलंकीलगायत टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको छ ।
नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।
अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरुले बताएका छन् । टिकट लिँदा भाडादर र टिकट वितरकको बारेमा राम्रोसँग जानकारी लिन र आधिकारिक व्यक्ति र काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवस्था विभागले भन्दै आएको छ ।
यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार तथा छटलाई लक्षित गरी राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । आफूलाई अफ्ठ्यारो परेका वा अलमल परेका यात्रुले सहायता कक्षबाट सहयोग तथा जानकारी लिन सक्ने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
